धनकुटा/ निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन गाउँमा भोट किन्न गाउँ पसेका राप्रपाका एक नेतालाई मंगलवार राती पक्राउ गरिएको छ । मतदातालाई आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै धनकुटाको कागतेवाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) धनकुटा नगरपालिका वडा नं. २ का वडा समिति अध्यक्ष राजकुमार राई रहेको प्रहरीले जनाएको छ । राईको साथबाट १ लाख ६९ हजार ५ सय बरामत भएको जनाईएको छ । उनलाई धनकुटा नगरपालिका वडा नं.३ कागतेबाट गए राति वाम गठबन्धनका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुदिप राजभण्डारीले ब्लाष्टलाई जानकारी दिएका छन् ।

मौन अवधिमा मतदातालाई आर्थिक प्रलोभनबाट प्रभावित पार्न खोजेको छानविनबाट पुष्टि भएको प्रहरीको भनाई छ । राई सहित रहेका अन्य दुई जना भने फरार रहेको बताइएको छ । बरामत रकम सहित नियन्त्रणमा लिइएको राईको बारे थप छानविन गरिने मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिएका छन् ।

उनले पक्राउ परेका राई मंगलवार राती नै छुटेको र वरामद गरिएको रकम छानविनको क्रममा तथ्य प्रमाण सहित पुष्ठी भए निर्वाचन आयोगले जफत गर्ने, नभए सम्वन्धित व्याक्तिलाई नै फिर्ता गर्ने बताएका छन् । उनले वरामद गरिएको रकम मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको ब्लाष्टलाई बताएका छन् ।