पाँचथर/ जिल्लामा पहिलोपल्ट शव वाहन ल्याएको छ । नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाले उक्त शव वाहन ल्याएको हो ।
३९ लाख रुपैंयाँ पर्ने उक्त शव वाहन भन्सार छुट हुँदा १५ लाख ७६ हजार रुपैंयाँमा आइपुगेको रेडक्रसका जिल्ला सभापति कृष्ण बाँस्कोटाले जानकारी दिए । पूर्व सांसद श्रीप्रसाद जवेगुको संसदकोषबाट दश लाख रुपैँया अनुदान र फिदिम नगरपालिकाको तीन लाख रुपैंयाँ तथा रेडक्रश पाँचथर शाखाको आन्तरिक स्राेतबाट उक्त शव वाहन खरिद गरिएको छ । जिल्लामा पहिलोपल्ट शव वाहन ल्याइए सँगै विभिन्न कारणले मृत्यु हुने मृतकको शव बोक्न सहज हुने जिल्लाबासीले अपेक्षा गरेका छन् ।