काठमाडौं/निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको मुख्य योजनाकार उनकै चिनजानको व्यक्ति भएको खुलेको छ। पुरानो लेनदेन विवाद र ठेक्काको कमिसन विवादमा उनको हत्या भएको आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सार्वजनिक गरेको छ। हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेतले व्यवसायी गौचनलाई करिब पाँच वर्षअघि गुन्डा नाइके कुमार घैंटे भनिने कुमार श्रेष्ठमार्फत चिनेका थिए। घैंटेका सबैभन्दा विश्वासिला साझेदार थिए समिरमान। ठेक्कापट्टामा भने गौचनसँग घैंटेको साझेदारी थियो। त्यही क्रममा घैंटेले नै समिरलाई गौचनसँग चिनजान गराएका थिए। दुईबीचको कारोबार पनि समिरलाई थाहा थियो। ३ भदौ २०७२ मा कुमार प्रहरी मुठभेडमा कपुरधारास्थित घरै अगाडि मारिए। त्यस घटना लगत्तै समिरले काठमाडौं छाडे। प्रहरीले खोजी गरेको थाहा पाएपछि भारत भागेका उनलाई ठेक्कापट्टामा कमिसन खाने ‘लत’ लागिसकेको थियो। गौचन निर्माण व्यवसायी महासंघका अध्यक्ष थिए। अधिकांश ठूला ठेक्कापट्टामा उनको संलग्नता हुन्थ्यो। उनीसँग प्रशस्त सम्पत्ति रहेको समिरलाई जानकारी थियो। त्यसकारण उनलाई धम्क्याएर उनी पैसा हात पार्न चाहन्थे। ‘डाँफे कन्स्ट्रक्सनमा सेयर दिने भनेर कुमार घैंटेसँग गौचनले साढे दुई करोड रुपैयाँ लिएको भन्ने कुरा छ’, सिआइबीका निर्देशक डिआइजी पुष्कर कार्कीले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यसमध्ये एक करोड आफ्नो भएको दाबी गर्दै समिरमानले त्यो पैसा फिर्ता दिन गौचनलाई धम्क्याएका थिए।’ सोही घटनाबाट दुईबीच दुश्मनी बढ्दै गयो। पछि हुलाकी राजमार्गको ठेक्काको २ प्रतशित कमिसन पनि माग्दै उनले गौचनलाई धम्क्याएका थिए। हुलाकी राजमार्गको २ प्रतिशत कमिसन करिब २२ करोड रुपैयाँ थियो। गौचनले पैसा नदिने बताएपछि समिरको समूहले उनको हत्या गरेको प्रहरी निष्कर्ष छ । गौचन र समिरबीच पैसाको विषयमा चरम विवाद भएको सिआइबीले जनाएको छ। ‘सायद घैंटेमार्फत चिनजान नभएको भए समिरको निशानामा गौचन पर्ने थिएनन्’, अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘चिनजानको व्यक्ति भएको र घर पनि थाहा भएकाले उनीहरुले गौचनलाई निशाना बनाएको हुनसक्छ।’ गत २३ असोजमा घरबाट निस्किएर कार्यालय जाने क्रममा राजधानीको शान्तिनगरमा गौचनको हत्या भएको थियो। समिरलाई सिआइबीले शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। प्रहरीले चितवनबाट पक्राउ गरेको बताए पनि भारतबाटै पक्राउ गरी ल्याएको प्रहरी स्रोत बताउँछ। घटनामा संलग्न सुटरसहित सात जना यसअघि नै पक्राउ परिसकेका छन्। मनोज चर्चित भएपछि छुट्टिएका थिए समिर गत वर्ष पुस ४ गते बुटवलमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या मनोज पुनकै समूहले गरेको प्रहरी दाबी थियो। तर, उक्त हत्याका प्रमुख योजनाकार समिर नै भएको सिआइबीले जनाएको छ। हत्यापछि समिरले घटनाको जिम्मेवारी लिएका थिए। त्यसबेला मनोज र समिर एउटै समूहमा थिए। कुमार घैंटे प्रहरी ‘इन्कान्टर’ मा मारिएपछि भागेका समिर र बुटवलमा मोस्ट वान्टेड भएपछि भारत पसेका मनोजबीच दोस्ती जमेको थियो। प्रहरीको ‘हिटलिस्ट’ मा भएकाले तत्काल नेपाल फर्कन सक्ने सम्भावना नभएपछि उनीहरुले भारतमै बसेर आपराधिक योजना अघि बढाए। उनीहरुलाई कुख्यात अन्डरवल्र्ड डन दाउद इब्राहिमकै शैलीमा पैसा कमाउने रहर थियो। त्यसपछि ठ्याक्कै दाउदकै शैली अपनाए। भूमिगत बस्ने, फोन प्रयोग नगर्ने र धम्क्याउँदै हुन्डीमार्फत पैसा असुल्ने उनीहरुको योजना थियो। त्यसको सुरुवात दुर्गा तिवारीको हत्याबाट गरेका थिए। तिवारीसँग मनोजको दुश्मनी पनि भएकाले पहिलो निशानामा उनी परेको प्रहरी अधिकारीहरु बताउँछन्। तर, त्यो हत्याको प्रमुख उद्देश्य रिस–इबी मात्र भन्दा पनि पैसा असुल्नु थियो। हत्या लगत्तै मनोजले बुटवलका व्यवसायीहरुलाई धम्क्याएर पैसा असुलेका थिए। त्यही पैसाको विषयलाई लिएर समिर र मनोजबीच विवाद सुरु भयो। व्यापारीहरुबाट असुलेको धेरै पैसा मनोजले मागेपछि समिर र लोप्साङ लामा छुट्टिएका हुन्। अर्कोतर्फ तिवारी हत्यापछि मनोज मात्र चर्चित भएपछि समिरले त्यसमा पनि असन्तुष्ट थिए। आफूभन्दा ‘जुनियर केटो’ चर्चित भएकोमा असन्तुष्ट भई समिरले नयाँ समूह सुरु गरेका थिए। पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको अडियो बयानमा समिरले भनेका छन्, ‘दावा लामाको यो गोलीकाण्ड र गौचनको हत्याकाण्ड मेरो योजनामा बनेको हो। फिल्डमा खटिने सबै चिज लोप्साङ लामाले गरेको हो, मनोज पुन चाहिँ दुर्गा तिवारी काण्डपछि नै अलग्गिसकेको हो, हामीसँग छैन ऊ।’ छुट्टिएपछिको निशानामा दावा उनीहरु छुट्टिएपछि समिर र लोप्साङ एकातर्फ भए भने मनोज पुन र सोम घले अर्को समूहमा बसे। दुवैले आ–आफ्नो समूह विस्तार गर्दै धम्की र असुलीमा लागे। समिरको समूहले पहिलो निशाना काभ्रेली समूहका गुन्डा नाइके दावा लामालाई बनाए। गत वर्ष २९ चैतमा जिम जाने बेलामा दावालाई चावहिल गौरीघाटको दिव्य पार्टी प्यालेसमा गोली हाने। तीन राउन्ड गोली लागेका दावा बाँच्न सफल भए। हत्याकै उद्देश्यले उनीहरुले पेटमा तीन राउन्ड गोली हानेका थिए। तर, गोलीले संवेदनशील अंग नछेडेको र हड्डीमा पनि नलागेकाले उनी हाल उपचारपछि सामान्य अवस्थामा छन्। दावालाई सो समूहका अम्बरबहादुर राना मगरले गोली हानेका हुन्। उनी सेनाका भगौडा हुन्। दावालाई गोली हाने लगत्तै लोप्साङले काठमाडौंका तत्कालीन प्रहरी प्रमुख छविलाल जोशीलाई फोन गरी घटनाको जिम्मेवारी लिएका थिए। व्यक्तिगत दुश्मनीकै कारण उनीहरुले दावाको हत्या प्रत्यास गरेका थिए। अर्कोतर्फ दावाले पनि व्यापारीहरुलाई धम्क्याउँदै आएकाले समिर समूहले गुन्डागर्दीमा एकछत्र राज गर्ने योजनाका साथ आक्रमण गरेको प्रहरी अधिकारीहरु बताउँछन्। दावापछि उनीहरुले दोस्रो निशाना शरद गौचनलाई बनाएका हुन्। करिब एक महिनाको निगरानीपछि गौचनको हत्या भएको थियो। उनीहरुले कतिसम्म योजना बनाएका थिए भने, एउटा पेस्तोलले काम नगरे अर्कोबाट गोली हान्ने भन्दै दुई वटा पेस्तोल बोकेका थिए। गौचन हत्यामा दुई वटा पेस्तोल प्रयोग भएको छानबिन समितिका संयोजक डिआइजी गणेश केसी बताउँछन्। गौचन हत्यामा पनि उनीहरुको व्यक्तिगत रिस–इबीबाहेक फिरौती असुली पनि प्रमुख कारण थियो। हत्या लगत्तै अन्य ठेकेदार र सुन व्यापारीहरुलाई धम्क्याएर पैसा असुल्न थालिसकेका थिए। व्यापारीहरु आतंकित भइसकेका थिए। उनीहरुले करोडौं पैसा उठाइसकेको समेत स्रोत बताउँछ। समिर पक्राउ परेपछि व्यापारीहरुलाई केही राहत त भएको छ, तर सो समूहका अन्य व्यक्तिहरु फरारै रहेकाले उनीहरुले समेत धम्की र असुलीको धन्दा कामयै राख्न सक्ने सम्भावना कायमै छ। सिआईबीका निर्देशक डिआइजी कार्की भने आफूहरु यस्ता किमिसका संगठित समूहलाई ध्वस्त बनाउने बताउँछन्।

नेपाल लाइभ