सुरुङ्गा/ दोस्रोचरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो ।

आज राति १२ बजेपछि मौन अवधि शुरु हुँदैछ । राजनीतिक दलहरु प्रचारप्रसारको अन्तिम दौडधुपमा ब्यस्त छन् । मौन अवधि शुरु हुनै लाग्दा झापा क्षेत्र नं ३ को चर्चा अझ बढी चुलिएको छ ।

क्षेत्र नं ३ मा काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र वाम गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै हुनुहुन्छ । उनीहरु अहिले मतदाता फकाउन अन्तिम कसरतमा जुटेका छन्।

झापामा करिब रु तीन अर्ब ५० करोड बजेट आफ्नो क्षेत्रमा भित्र्याएर विकास निर्माणको लहर ल्याएकाले आफ्नो जित सुनिश्चित रहेको काँग्रेसका पूर्व महामन्त्री एवं यस क्षेत्रका उम्मेदवार सिटौलाले बताए ।

राप्रपाका महामन्त्री लिङ्देन आफ्नो जित सुनिश्चित भएको बताउछन् । उनले भने– “गठबन्धनका कारण म सहजै जित्छु ।”

देशव्यापी रुपमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएसँगै काँग्रेसले पनि राप्रपासँग गठबन्धन गरेको थियो । तर, झापामा त्यो गठबन्धन टिक्न नसक्दा राप्रपालाई वाम गठबन्धनले साथ दिएको छ भने काँग्रेस एक्लै चुनावी मैदानमा छ ।

विसं २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा सिटौलासँग लिङ्देन पराजित भएका थिए । यसपटक सिटौलालाई पराजित गर्दै लिङ्देन बदला लिने सोचमा छन्। सिटौला भने आफ्नो विरासत जोगाउने अन्तिम कसरतमा छन्।