मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले दिएको प्रचार प्रसारको समय सोमबार सकियाे । आफ्नो दल र उम्मेदवारको प्रचार प्रसारको व्यस्ततालाई बढाउँदै झापा र मोरङमा राती समेत घरदैलो अभियान सञ्चालन भइरहेका छन् । बिहान उज्यालो भएदेखि नै चुनाव प्रचारप्रसारका निस्किएका पार्टी कार्यकता र उम्मेदवारहरु साँझदेखि रातीसम्म मतदातालाई भेट्नमै व्यस्त भइरहेका छन् । दिउँसो मानिसहरु खेतीको काममा व्यस्त भएकाले ग्रामीण क्षेत्रमा भनें मतदाता भेट्ने उपयुक्त समय रात परेपछि हुने गरेकाले पनि सो समयमा घर घरमा पुग्न उम्मेदवारको भ्याइनभ्याइ छ । मतदाताहरुको व्यवस्ततालाई मध्यनजर गरेर ग्रामीण भेगमा पर्ने झापाको क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका उम्मेदवार रात्रीकालिन चुनाव प्रचारमा लागिरहेका छन् । दिनभर व्यापार व्यवसाय र नोकरीमा व्यस्त हुने मतदातालाई होस् वा गाउँको खेती किसानीमा व्यस्त रहने मतदाताका लागि सन्ध्याकालीन चुनाव प्रचारको कार्यक्रम निक्कै प्रभावकारी भइरहेको छ । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एलपी साँवा भन्छन– ‘समय एकदमै कम्ती छ, सबै मतदाताका घरघरमा पुग्न चाहेर पनि भ्याइँदैन । दिउँसो खेतमा र अन्य व्यवसायमा व्यस्त भएका मतदातालाई साँझको समयमा घरमा गएर भेट्ने कामलाई पनि प्राथमिकता दिइरहेका छौं । ’ वाम गठबन्धनकै प्रदेशसभा सदस्यका उम्मेदवार झलकसिंह दर्लामी निम्न वर्गीय मतदाताहरुको बाहुल्यता रहेको आफ्नो क्षेत्रमा आवश्यकताका आधारमा सन्ध्याकालीन चुनाव प्रचारप्रसार गर्ने गरिएको सुनाउँछन् । सो क्षेत्रमा हालसम्म करीब १० स्थानमा सन्ध्याकालिन र रात्रीकालिन कोणसभा, अन्तरक्रिया र स्थानीय आवश्यकताहरुको विषयमा बहस गरिएको उनले जनाए । नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार विद्यानन्दसिंह राजवंशी सन्ध्याकालिन चुनाव प्रचारप्रसार प्रभावकारी भएको दाबी गर्छन् । झापाको क्षेत्र नं ४ अन्तर्गत शिवसताक्षी र कनकाई नगरपालिकाका आंशिक वडाहरु बाहेक सबै ग्रामीण तथा खोला नदी कटान प्रभावित क्षेत्र पर्दछन् । झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिकाको महाभारा र कोरोबारी खण्ड, गौरादह नगरपालिकाको बैगुनधुरा खण्ड क्षेत्र नं. ४ मा पर्ने दुर्गम ठाउँहरु हुन् ।