उदयपुर/ नेपाली कांग्रेसको समर्थनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईका भाञ्जा पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

[caption id="attachment_62947" align="alignleft" width="575"] अशोक राईको भाञ्जालाई स्वागत गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली । समाजवादी फोरम त्यागेर एमालेमा प्रवेश गरेका अशोक राईका भाञ्जा किसोर ताम्राकार(रातो घेरामा) ।[/caption]

उदयपुर जिल्लाका समाजवादी फोरमका सहसचिव समेत रहेका नेता राईका भाञ्जा किसोर ताम्राकार एमालेमा प्रवेश गरेका हुन् । उनलाई शनिबार बाम गठबन्धनको गाइघाटमा आयोजित संयुक्त चुनावी सभामा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराएका हुन् । ओलीले उनलाई फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।

फोरमका जिल्ला सहसचिव रहेका ताम्राकारले पार्टी परित्याग गरेपछि उदयपुरमा हलचल मच्चिएको छ भने त्यसको पराकम्पनले सुनसरी क्षेत्र नं १ मा पनि हल्लाएको छ ।

आफ्नै मामा एवं फोरमका वरिष्ठ नेता राईलाई जिताउन पार्टीका पहाडी क्षेत्रबाट सबै केन्द्रीय नेताहरु धरान झरेको बेला भाञ्जा भने पार्टी त्यागेर एमालेमा प्रवेश गरेपछि उम्मेदवार राई निक्कै तनावमा परेका छन् ।

‘नेता अशोक राईले भाञ्जालाई धरान आएर सघाउनुस भन्दै हुनुहुन्थ्यो, उता भाञ्जा भने पार्टी नै छोडेर एमालेमा प्रवेश गरेछन्,’लोकतान्त्रिक गठबन्धन निकट एक नेताले भने,‘यो खबरले अशोक राई तनावमा पर्ने त भइहाल्यो नि ।’एमालेका वरिष्ठ उपाध्यक्ष रहेका राईले आदिबासी जनजातिको पहिचानको मुद्दालाई पार्टीले स्वीकार नगरेको भन्दै संघीय समाजवादी पार्टी खोलेका थिए ।

उनका भाञ्जा पनि सोही पार्टीमा थिए । तर, पछिल्लो समय मामाले पार्टीलाई मधेशवादी दलमा लगेर मिसाएपछि भने उनी असन्तुष्ट थिए । आदिबासी जनजातिको मुद्दालाई मधेश र भारतको पोल्टामा हालेकोले आफुले सो पार्टी त्यागेको ताम्राकारको भनाई छ ।

‘पहिचान र जनजातिको मुद्दा उठाउने भन्दा म पनि उत्साहित भएर लागे, तर पछि जनजातिको मुद्दालाई मधेशमा मिसाइयो, भारतको गुलामी बनाइयो,’उनले भने ।