[caption id="attachment_62902" align="aligncenter" width="1000"] फाइल तस्बिर[/caption]

ताप्लेजुङ । किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात ‘न्वागी पूजा’ ताप्लेजुङ सहित पूर्वी नेपालमा आज धुमधाम साथ मनाइँदैछ । विशेष गरी राई, लिम्वू, सुनुवार र याक्खा जातिले मंसिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ-आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको खेल मैदानमा निर्माण गरिएको पूजा न्वागी पूजा गर्नेहरुको बिहानैदेखि भिड लागेको छ । जिल्लाका अन्य स्थानमा रहेका किराँत मन्दिरहरुमा पनि पूजा गर्नेहरुको भिड लागेको किराँत धर्मगुरु ज्ञानु फुरुम्बो (चरपे)ले जानकारी दिए । पाँचथर सदरमुकाम फिदिमस्थित सुम्हालुङ मन्दिर, सिलौती, लव्रेकुटी लगायतका किराँत मन्दिरहरुमा पनि पूजा गर्नेको घुइँचो छ ।

यसै अवसरमा ताप्लेजुङमा फुङ्लिङस्थित भानुजन माविको खेल मैदानमा आयोजना गरिएको चासोक तंङ्नाम विषेश कार्यक्रमको समापन पनि आजै हुने छ । चासोक तंङ्नाम विषेश कार्यक्रममा च्याब्रुङ र धान नाच प्रतियोगिता र सांगितिक कार्यक्रम भईरहेका छन् ।

प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दूहरुले धान्य पूर्णिमा, किराँत याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उधौली पर्वका रुपमा मनाउने गर्छन् । केही वर्षदेखि नेपाल सरकारले मंसिर पूर्णिमाका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक विदा दिन थालेको छ ।

बिशेषतः यो पर्व किराँतहरुको वाहुल्यता रहेका ताप्लेजङ, पाँचथर, इलाम धनकुटा, तेहथुम, संखुवसभा, झापा, मोरङ र सुनसरी तथा काठमाडौं उपत्यकामा भव्यताका साथ मनाउने गरिएको छ ।