धरान/एचआइभी संक्रमितहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा संक्रमितहरु समाजमा खुल्न नचाहेको एचआइभीको क्षेत्रमा कार्यरत संस्थाहरुले बताएका छन् । संस्थाहरुले समाजमा एचआईभी संक्रमितहरुमाथि हुने यही विभेदका कारण अझै पनि १४ हजार ७ सय ९९ जना समाजमा खुल्न नसकेको बताएका हुन् । धरानमा कार्यरत धरान पोजेटिभ समूहका अध्यक्ष खगेन्द्र खड्काका अनुसार राष्ट्रिय एचआइभी एड्स नियन्त्रण केन्द्र शाखा कार्यालय टेकूमा ३२ हजार ८ सय ५५ जना एचआईभी संक्रमितहरु रहेका छन् । तर, औषधिको पहुँचमा १८ हजार ५६ जना मात्रै रहेका छन् । यो अवस्थाको अन्त्य गर्नको लागि धरान–८ को भानुसहिद स्मृति स्कुलमा विद्यार्थीहरुलाई सचेतना गराइएको छ । लियो क्लव अफ धरानको समन्वयमा समूहले विद्यार्थीहरुलाई एचआईभी एड्सबाट बच्ने उपायहरु बारे जानकारी गराए । कार्यक्रममा कमला गुरुङ ताम्राकार, पवित्र लिम्बू, विना सुब्बा, खगेन्द्र खड्काले सहजिकरण गरे । यसैबीच समूह र केवाईसी पुनर्जीवन केन्द्रको संयुक्त आयोजनामा धरानको भानुचौकमा शुक्रबार साँझ दीपप्रज्वलनसमेत गरिएको छ । शुक्रबार विश्व एड्स दिवससमेत परेको थियो ।