शनिश्चरे/निर्वाचनको प्रचारप्रसारका क्रममा झापा निर्वाचन क्षेत्र नम्बर ५ को घरदैलोमा बोल्दै नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले ज्योषिसले कसैलाई प्रधानमन्त्री हुने भनेर भनिएको घरमा मुलुकको प्रधानमन्त्री नहुने बताएका छन् ।
ओलीले आफु उम्मेदवार रहेको दमक ३ स्थित आमचोकमा शुक्रवार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै हालका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवातर्फ व्यंग्य प्रहार गर्दै ज्योषिसलाई केही दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री बन्छ भन्न लगाउनुको कुनै तुक नरहेको बताए । ओलीले अव जनताले रुचाएर प्रधानमन्त्री बन्नु पर्ने बेलामा जनताको समस्या नहेर्नेलाई जनताले प्रधानमन्त्री नबनाउने टिप्पणी गरेका छन् ।
संयुक्त निर्वाचन परिचालन संयोजन समितिले आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले मतदातालाई स्थानीय विकास हुनेमा ढुक्क हुन आस्वस्त पारेका छन् । झापाको लखनपुरमा रहेको आदिवासी रंगशाला बनाउने विषयमा विवाद रहेको प्रसङ उठाउदै लखनपुरमा रंगशाला बनाउन नदिए दमकमै अन्तराष्ट्रिय स्तरका रंगशाला बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
साथै ओलीले नेपाल जस्तो बहुभाषिक र बहुजातीय भएको समाजमा जातीय विभेदको कुरा गर्छ भने त्यो असफल हुने बताएका छन् । ओली मंसिर १३ गते देखि आफनो निर्वाचन क्षेत्र र झापाका अध्यक्ष निर्वाचन क्षेत्रका मतदातासंग भेटघाट र आमसभामा ब्यस्त रहँदै आएका छन् । शुक्रवारै मात्र उनले दमक ३ को आम चोक, दमक ९ को चियादोकान क्षेत्रका मतदातासंग भेटघाट कोणसभामा सहभागी भएका छन् । सो अवसरमा निर्वाचन क्षेत्र नम्वर ५ ख को प्रदेशसभा सदस्यका उम्मेदवार अर्जुन राईले ब्यक्तिले हारेर केही नहुने तर झापा दमकको विकास समृदिले हार्न नहुने बताएका छन् । क का उम्मेदवार हिक्मत कार्की समेत आफ्नो क्षेत्रको घरदैलोमा व्यक्त गरेका छन् ।
मोरङमा घरदैलो वाम गठवन्धनले चुनावी प्रचार अभियान अन्तर्गत शुक्रवार मोरङ निर्वाचन क्षेत्र नम्बर ३ को पथरीशनिश्चरेमा युवाहरुले मोटरसाइकल र्याली निकालेका छन् । पथरीशनिश्चरे ३ को आइतवारेबाट सुरु भएको र्यालीले सो वडा क्षेत्रको परिक्रममा गरेर पिपल चोकमा कोणसभा सम्पन्न गरेको छ । यसैगरी, वाम गठवन्धन पक्षमा भोट माग्ने घरदैलो अभियानका क्रममा आज पथरीशनिश्चरे १० को जिरिखिम्ती टोलमा पैदल र्याली निस्किएको छ ।
जिरिखिम्ती टोलका युवा अनोज घिमिरेको नेतृत्वमा निस्किएको र्यालीले टोल परिक्रमा गर्दै वाम गठवन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भानुभक्त ढकाललाई सूर्यमा र प्रदेश क का उम्मेदवार गीता तिम्सिनालाई गोलाकार भित्रको हंसिया हथौडामा छाप लगाउनका लागि भोट मागेको छ ।
र्यालीमा क्षेत्रीय निर्वाचन परिचालन कमिटी संयोजक पूर्व सांसद चण्डीप्रसार राई, एमाले जिल्ला कमिटी सदस्य टंक भण्डारी, जीवन खतिवडा समेतको सहभागिता रहेको थियो । उता, मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा पनि वाम गठवन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार एमालेका घनश्याम खतिवडा, प्रदेश क का माओवादीका उम्मेदवार कौशल लिम्बू र ख का एमालेका उपेन्द्र घिमिरेले पनि आफ्नो क्षेत्रमा घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
यस्तै, संघीय समाजवादी फोरमले पनि पथरी चोकमा घरदैलो कार्यक्रम गरेको छ । प्रतिनिधिसभाका उम्मेदवार केदार धिमाल र प्रदेश क का उम्मेदवार प्रेमकुमार लिम्बूका लागि चुनाव चिन्ह मसालमा भोट मागिएको छ । नेपाली कांग्रेसका सो क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार सुनील शर्मा र प्रदेश क का उम्मेदवार सुयर्माराज राईले आक्रामक प्रचार प्रसार कार्य अघि बढाएका छन् ।