[caption id="attachment_62535" align="aligncenter" width="800"] फायल[/caption]

शनिश्चरे/ आचारसंहिता विपरीत राजनीतिक दलले झापाको विभिन्न सार्वजनिक स्थानमा टाँगेको तुल, ब्यानर र झण्डा हटाउन थालिएको छ ।

क्षेत्र नं ५ मा रहेका निर्वाचन प्रचार प्रसारका निम्ति राखिएका ब्यानर, तुल र झण्डा हटाउन थालिएको निर्वाचन अनुगमन टोली प्रमुख एवं स्थानीय विकास अधिकारी खेमराज ओझाले जनाए । सो क्षेत्र अन्तर्गत दमक, गौरादह, गौरीगञ्ज बजार क्षेत्रमा राखिएका त्यस्ता प्रचार प्रसार सामग्री हटाउन सुरु गरिएको उनले उल्लेख गरे ।

यसखाले कामको अनुगमनका लागि क्षेत्र नं १ का लागि सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल, क्षेत्र नं २ का लागि पदक कार्की, क्षेत्र नं ३ का लागि जिल्ला न्यायाधिवक्ता प्रेमप्रसाद न्यौपाने र क्षेत्र नं ४ का लागि ज्ञानेन्द्र ओझालाई अनुगमन टोली प्रमुख बनाइएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले जनाएको छ । सम्बन्धित सरकारी निकायले व्यानर, तुल र झण्डा हटाउन थालेपनि दलहरुले त्यसखाले सामग्री सार्वजनिकस्थल राख्ने काम कम गरेका छैनन् ।