बेलबारी/ मोरङको बेलबारीमा तिब्बती धार्मिक नेता दलाई लामाको विरोधमा बुद्धका आकर्षक तस्वीरहरु बुधवार कोरिएका छन् । लामाले केहीदिन अघि बुद्ध भारतमा जन्मिएका हुन् भन्ने अभिव्यक्ति दिएपछि बेलबारीका जागरुक युुवाहरुले “बुद्ध नेपालमा जन्मिएका हुन्” भन्दै प्रत्यक्ष चित्रकला प्रस्तुति तथा हस्ताक्षर अभियान मार्फत लामा प्रति विरोध जनाएका हुन् । कोशी नेपाल मिडिया प्रालि  र बेलबारी बास्केटबल क्लवले आयोजना गरेको कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, राजनीतिज्ञ दिलप्रसाद राईले आदिवासी नेता तिलक राई , ढाकाकुमारी पराजुली लगायतले लामाको अभिव्यक्तिको भत्र्सना गरेका थिए । नेपालको स्वतन्त्रता र सार्बभौमसत्ता बिरुद्ध कसैले दिएको अभिब्यक्ति आफुलाई स्वीकार्य नहुने वक्ताहरुले बताए । विभिन्न समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले समेत बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रमित र गलत अभिब्यक्तिहरु दिँदै आएका छन् । बुद्ध नेपालमा जन्मिएका हुन भनी हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको छ । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि बिभिन्न बिद्यालयका बिद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा इटहरीका रिकल कार्की, बेलबारीका मेखराज राई, उत्तम राई, सुन्दरहरैचाका जोयल राई, सुनसरीका अमित राईले आकर्षक चित्र कोरेका थिए । कार्यक्रम संचारकर्मी अर्जुन राईको सभापतित्वमा सम्पन्न भएको थियो ।