इनरुवा/विगत लामो समयदेखि मूलुकको राष्ट्रिय राजनीतिका राज गर्दै आएका बिजयकुमार गच्छदामर नेपाली राष्ट्रिय राजनीतिकालागि नौलो नाम पक्कै हैन् । सबैभन्दा बढी उपप्रधानमंत्री बनेका गच्छदार राजनीतिमा आफ्नो प्रभाव जमाउन माहिर मानिन्छन् । नेपाली कांग्रेसबाट उदाएका गच्छदारको राजनीतिक यात्रा समयानुकुल परिवर्तित हुँदै आएको छ । मूलुकका आवश्यकता अनुकुल आफ्नो जिम्मेवारी वहन गर्दै आएका गच्छदार यतिवेला कांग्रेसमै फर्किएका छन् । आसन्न मंसिर २१ गतेको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि सुनसरी क्षेत्र नम्वर ३ बाट उम्मेदवार बनेका गच्छदार आफ्नो विजयी यात्रालाई निरन्तरता दिने ध्येयका साथ कार्यकर्ता माझमा उत्रिएका छन् । गच्छदारले दोस्रो पटक विपक्षी दलकी उम्मेदवार भगवती चौधरीसँग प्रतिष्पर्धा गर्दै छन् । दोस्रो संविधानसभा निर्वाचनमा गच्छदार र भगवती आमने सामने भएका थिए । जहाँ गच्छदारले भगवतीलाई पराजित गरेका थिए । फरवार्ड नामक माइक्रोफाइनान्स संचालक बाम गठबन्धन तर्फको एमालेकी उम्मेद्वार चौधरीले यस पटक नेतृत्व परिवर्तन हुने दावी सहित चुनावी कार्यक्रमलाई तिव्रता दिइरहँदा स्थानीय तहको आंकडा सहित क्षेत्र नम्वर ३ का राजनैतिक पण्डितहरुले बिजयलाई परास्त गर्न बाम गठबन्धनलाई मुस्किल पर्ने बताउने गरेका छन् । स्थानीय तह निर्वाचनमा प्राप्त मतका आधारमा लोकतान्त्रिक गठबन्धन विपक्षी बाम गठबन्धन भन्दा निकै अगाडी देखिएको छ । जुन आंकडा चिर्न विपक्षी उम्मेदवारलाई त्यति सहज छैन् । अन्तिम परिणामका लागि मतदाताको मत निर्णायक हुने भए पनि गच्छदारको पकड मानिएको क्षेत्र नम्वर ३ जित्नु बाम गठबन्धनका लागि फलामे चिउरा चपाउनु सरह हुने कांग्रेसी नेता तथा कार्यकर्ताहरुको भनाई छ । लोकतान्त्रिक फोरममै रहँदा समेत मजबुत पकड बनाएका गच्छदारको कांग्रेसमा प्रवेशसंगै लोकतान्त्रिक गठबन्धन थप मजबुत बनेको कांग्रेस सुनसरीको ठहर छ । सुनसरी कांग्रेसले क्षेत्र नम्वर ३ मा आफ्नो पार्टीको उम्मेदवारको सहज जित हुने दावी गर्दै आएको छ । एकसाता यता विभिन्न स्थानमा भएका चुनावी कार्यक्रममा सम्बोधनका लागि पुगेका गच्छदारले समेत आफ्नो कुनै प्रतिष्पर्धी नभएको धारणा राख्दै आएका छन् । पार्टीमा प्रवेशको लहरसंगै हरेक तह र तप्कामा मजबुत बन्दै गएको संगठनले सुनसरी क्षेत्र नम्वर ३ मा लोकतान्त्रिक गठबन्धनको सबै सिटमा जित सुनिश्चित रहेको अगुवा कार्यकर्ताहरुको ठम्याई छ । बाम गठबन्धनले भ्रमको खेती गरिरहेको आरोप लगाउने स्थानीय कांग्रेसी नेता तथा कार्यकर्ताहरुले क्षेत्र नम्वर ३ का मतदाताले योग्य, कर्मठ र राष्ट्रिय राजनीतिमा प्रभाव जमाउन सक्ने उम्मेदवारलाई साथ दिने विश्वास लिएका छन् । सो क्षेत्रमा आयोजित चुनावी कार्यक्रमहरुमा स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिती बाक्लिदै गएकाले समेत गच्छदारका पक्ष्यमा समर्थन बढ्दै गएको स्थानीयहरुको भनाई छ ।