काठमाडौं/ निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित पाँच जना पक्राउ परेका छन्। महानगरीय प्रहरीले आज मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने भएको छ।
महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले भने, 'हत्यामा संलग्न सुटरसहित पाँच जना पक्राउ परेका छन्। मंगलबार ३ बजे सार्वजनिक गर्दै छौं।' गोली हान्न निर्देशन दिने काठमाडौंका गुन्डा समिरमानसिंह बस्नेत भने फरार रहेको प्रहरीले जनाएको छ।
गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए।
प्रहरीले यसअघि हत्यामा प्रयोग गरिएको आशंकामा दुई वटा मोटरसाइकल बरामद गरेको थियो। जसमध्ये एउटा चोरीको मोटरसाइकल भएको प्रहरीको अनुसन्धान समितिले पत्ता लगाएको थियो।