‘अधिकार मागेर नपाए खोसेर लिनुहोस् ।’ यो न्यायका पक्षमा बोलिएको कुरो हामीले सुन्दै आएका छौँ । कहिलेकाहीं अधिकार प्राप्त गर्ने मापदण्ड पुग्दा पनि निर्धो र निम्छरो पछि परिरहेको हुन्छ । यसलाई स्वभाविक रूपमा लिने र मत्स्य नीतिका रूपमा व्याख्या गरिन्छ । अर्को कुरो,मापदण्ड वा नीति भनौं, कहिलेकाहीं लिगलिगे दौडजस्तो पनि हुन्छ । दौडमा एउटै मापदण्ड ‘दगुर्न सक्ने’ रहन्छ । तर त्यहाँ कुन गतिमा दगुर्ने भन्ने हुँदैन । स्पर्धी पनि उत्तिकै बलिया बांगा हुँदैनन् । तर पनि तिनको मापदण्ड पुग्छ, दौडिन्छन् र अन्ततः तिनै बलिया बांगा राजा बन्छन् ।

अहिले मुलुकमा त्यस्तै ‘डिजाइन’को लिगलिगे दौड हुँदैछ, जहाँ प्रदेशको राजधानीका लागि मुख्य शहर तँछाड मछाड गर्दै अभ्यास गरिरहेका छन् ।एक नम्बर प्रदेशको राजधानीको कुरा गर्दा धनकुटा, धरान, इटहरी, विराटनगर दौडमा छन् । पूर्वतिरबाट यसो दमक पनि चिहाइरहेको छ । अब यही दौडमा अन्य शहरका पनि आकांक्षा होलान् । मापदण्ड पुग्लान् ।  यही मेसोमा गाउँबाट नगर बनेको वराहक्षेत्रधाम (वराह नगरपालिका) अलि निर्धो, निम्छरो, होचो जस्तो देखिएपनि राजधानी बन्ने मापदण्डका आधारमा आफूलाई कम आँक्दैन ।आफूलाई अब्बल नै ठानेको वराहक्षेत्र सरकारी मापदण्डमा कुन हैसियतमा छ, कुरो बुझिहालौं न ।

उत्तरमा धनकुटा जिल्ला ऐतिहासिक र धार्मिक महत्व र पुण्य प्रदान गर्दै बगिरहेको कोकाहा नदीको सिमाना, पश्चिममा ऐतिहासिक उदयपुर जहाँ मैनामैनी, चौदण्डी गढी चतराको काखमा बगिरहेको पापनाशिनी सप्तकौशिकी नदीलाई हेरेर हाँसिरहेका छन् ।सप्तकोशी उसैगरी प्रवाहित भएर बगिरहेको छ । उत्तर र पश्चिममा बग्ने कोकाहा र सप्तकोशी नदीले लाखौं भोल्ट बिजुली लिएर बगिरहेका छन् । कञ्चन खानेपानी लिएर बगिरहेका छन् । यता चतरा नहरले हजारौँ बिगाहा जमिन सिञ्चित गरिरहेको छ । दक्षिणमा कोशीटप्पु बन्यजन्तु आरक्षलाई काखमा लिएर हरिया फाँटमा अनाज उत्पादन गर्दै श्रीपुर, हरिपुर लौकही र भोक्राहासँगैपूर्वपश्चिम राजमार्गलाई छोइरहेको छ । पूर्वमा पटनाली खोलासँगै जोडिएको धरान उपमहानगरको नयाँ भूभाग छ ।

राज्य पुनःसंरचना समितिले राजधानीको लागि सामान्यतः चारवटा आधारलाई पेश गरेको छ । जसअनुसार अन्तर्राष्ट्रिय सीमानाकाबाट ५० किलोमिटर टाढा हुनुपर्ने, भौतिक पूर्वाधार निर्माणका लागि पर्याप्त जग्गा हुनुपर्ने, यातायातको सुगमता र जलाशयको सम्भावना हुनुपर्ने भनेको छ । यसै आधारलाई हेर्दावराहक्षेत्रधाम किन प्रदेशको राजधानी हुन नसक्ने ? हेरौँः

सीमा नाका देखिको दूरी जिल्लागत रूपमा हेर्ने हो भने वराहक्षेत्र पूर्व, पश्चिम, उत्तर र दक्षिणमा क्रमश धरान (सुनसरी), उदयपुर, धनकुटा र भोक्राहा (सुनसरी) सँग जोडिएको छ ।  धरान बजारदेखि १४ किलोमिटरको दूरीमा रहेको वराहक्षेत्र इनरुवादेखि झण्डै ३० किमीको दूरीमा पर्छ । धनकुटा बजारदेखि झण्डै १०० किमीको दूरीमा रहेको वराहक्षेत्र उदयपुरको गाईघाटदेखि पनि झण्डै उत्तिकै दूरीमा पर्छ । यता नेपाल–भारतको पूर्वीसीमा काँकडभिट्टाबाट झण्डै १५० किमीको दूरीमा रहेको छ भने दक्षिणीनाका विराटनगरबाट झण्डै ८० किमीको दूरीमा रहेको छ ।

पूर्वाधार निर्माणका लागि पर्याप्तता वराहक्षेत्रको फैलावट हेर्ने हो भने पूर्वदेखि पश्चिमसम्म अधिकत्तम दूरी २० किलो मिटर र उत्तरदक्षिणको दूरी हेर्ने हो भने झण्डै ३० किलोमिटर छ । यो मापन हेर्दा वराहक्षेत्र ठूलो भूभागमा फैलिएको चुरेक्षेत्रदेखि तराईको समथर फाँटसम्म रहेको छ । वराहक्षेत्रको चतरामा यसअघि नेपालकै ठूलो नहर र सुनसरी मोरङ सिचाइ योजना सम्पन्न भइसकेको छ । यही नै पुरानो हाइड्रोपावर सञ्चालनमा रहेको छ । सोयल कन्जर्भेसनको नामबाट यस अघि नै परियोजना सञ्चालनमा आइसकेको छ । यही नै एल–एन्ड–टी परियोजना पनि सम्पन्न भइसकेको छ ।कोशी प्रोजेक्ट यहीबाट सुरु भएको हो र अझै पनि यहाँका दुईवटा इन्टेकबाट नेपाल र भारतका हजारौँ हेक्टर खेतीयोग्य जमिनमा सिचाइ भइरहेको छ । भारत र चीनका ठूलाठूला परियोजना सफल भइसकेको र धानी सकेको क्षेत्र यही वराहक्षेत्र हो । यी देशहरूले निर्माण गरेका भौतिक संरचना अझै पनि यथावत छन् । प्रदेश सरकारले आवश्यकताअनुसार यहाँ भौतिक संरचना उपयोग र निर्माण गर्न सक्छ ।

यातायातको सुगमता वराहक्षेत्र पूर्वी पहाडलाई तराईसँग जोड्ने मुख्य नाका हो । यहाँको चतरा बजार व्यापार र वाणिज्य सभ्यताको इतिहासलाई केलाउँदा अग्रपंक्तिमा आउँछ । यही बजारसँग अहिले व्यापार जोडिएका धरान, इटहरी, गाईघाट, बेलटारभन्दा जेठो व्यापारिक केन्द्र पनि चतरा नै हो ।  पहाडी जिल्लाहरू भोजपुर, धनकुटा, खोटाङको पनि मुख्य व्यापारिक केन्द्र चतरा नै हो । ती जिल्लाका उत्पादन यहाँ बिक्री गर्ने र उपभोग्य वस्तु यहीँबाटै ढुवानी हुने गरेको इतिहास छ । यहाँको चतरा बजारलाई केन्द्रमा राखेर हेर्ने हो भने पूर्व, पश्चिम उत्तर, दक्षिणका सबै सीमाहरूमा सहज यातायातको व्यवस्था रहेको छ । यहाँको धरान–चतरा राजमार्ग सबैभन्दा पुरानो मार्ग हो । चतरा–झुम्का सिचाइ योजनासँगै जोडिएको सडक हो । यही क्षेत्रको बीचभागबाट हुलाकी राजमार्ग दौडिरहेको छ । सप्तकोशी नदीमा मुलुककै आधुनिक पुल बनेपछि उदयपुरका तराई र पहाडीका क्षेत्रसँग पनि सहज आवागमन हुन थालेको छ ।

धरान–चतरा–हुँदै पूर्वी नेपाललाई राजधानीसम्म जोड्ने फास्टट्रयाकपनि यही क्षेत्र हुँदै अगाडि बढेको छ । चतरा–उदयपुर हुँदै भोजपुर र दक्षिणपश्चिम धनकुटाका विभिन्न क्षेत्रहरूसँग जोड्ने सडक सञ्जाल अन्तिम चरणमा पुगेको छ । यसको समापनसँगै भोजपुर, खोटाङ र धनकुटाको व्यापार सिधै चतरासँग झनै सहज रूपमा जोडिन्छ । वराहक्षेत्रमा सडक यातायातको सुगमता मात्र होइन, जल यातायात, रोप–वे (केवलकार) साथै हवाई मार्गको सम्भावना अन्य सहरका तुलनामा सहज निर्माण गर्न सकिन्छ । सप्तकोशी नदीमा यस अघि नै पानीबोट सञ्चालन भइसकेको छ । र, हाल पनि वराहक्षेत्रदेखि धनकुटाको सिम्लेसम्म सञ्चालनमै रहेको छ । यहाँबाट भोजपुर, खोटाङ र धनकुटाका स्थानीय प्रत्यक्ष लाभान्वित भइरहेका छन् ।

सुनसरी मोरङ सिचाइ योजनाको चतरा नहर निर्माण गर्दा भविष्यको सम्भावनालाई नजरअन्दाज गरिएको छ । यसको सम्भाव्यतालाई ख्याल नगर्दा वराहक्षेत्र र चतरा नहरसँग जोडिएका नगरउन्मुख गाउँहरू प्रत्यक्ष घाटामा छन् । यो योजना निर्माणले यहाँका खेतीयोग्य जमिन त सिञ्चित भए तर जलयातायातको ठूलो सम्भावनालाई वेवास्ता गरियो ।  नहरमा ठाउँठाउँमा साइफन निर्माण गर्ने र वारिपारी आवतजावत गर्ने पुल निर्माण गर्दा पानीको सतहमै जोडेर निर्माण गर्नाले जलयातायातको ठूलो सम्भावना ओझेलमा परेको छ । त्यतिबेलै अनावश्यक जस्तो देखिने साइफन निर्माण नगरी ‘ओभरब्रिज’ निर्माण गरिदिएको भए । अहिले चतरा–विराटनगर पुग्न लाग्ने २–३ घण्टाको समय २०–२५ मिनेटभित्रै समेटिने थियो ।  राज्यले यसलाई सच्याउन सके मोरङको बाहुनीदेखि चतरासम्म फैलिएको नहरमा जलयातायात चल्न सक्थ्यो र सहज आवागमन हुने र पर्यटनको प्रवद्र्धन हुनेथियो ।

तत्कालीन धरान नगरपालिका मेयर मनोज मेन्याङ्बोको नेतृत्वले समेत विस्तृत अध्ययन प्रतिवेदनमा हाल धरानको विष्णुपादुकादेखि वराहक्षेत्रसम्म केवलकार सञ्चालन गर्न सक्ने सम्भावनालाई उजागर गरेको थियो । वराहक्षेत्र मन्दिर क्षेत्रबाटै धनकुटाको प्रख्यात छिन्ताङदेवीको मन्दिरसम्म केवलकार सञ्चालन गर्न सके केवलकारको चक्रपथ नेपालमै पहिलोपटक निर्माण गर्न सकिन्थ्यो । यसलाई धार्मिक चक्रपथका रूपमा राखेर विष्णुपादुका–वराहक्षेत्र–छिन्ताङ हुँदै धरान–भेडेटारको केवलकारको सपनासमेत साकार पार्न सकिन्थ्यो । विराटनगरलाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्ने र पूर्वमा आन्तरिक उडानका लागि थप अर्को विमानस्थल निर्माण गर्ने योजनालाई मूर्त रूप दिन यही वराक्षेत्रमा पुग्दो ठाउँ छ । वराहक्षेत्र चतराघाटपारीपट्टी अहिले कोशी नदीमा बनेको पुलको केही दक्षिणपट्टी टापुका रूपमा बनेको ठूलो भूभाग छ ।यो टापुलाई चारैतिर बाँध बानेर धावनमार्ग बनाउन सकिन्छ । यो भूभागलाई विमानस्थलका रूपमा विकास गर्न सके चतरा मात्र होइन उदयपुर, भोजपुर, खोटाङ, धनकुटाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेथिए । विमानस्थलको झमेला खेपिरहेको धरान र त्यति ठूलो सम्भावना नभएको इटहरीलगायतका शहरहरूलाई झनै सजिलो हुने थियो ।

जलाशयको सम्भावना हाम्रो शहर प्रदेशको राजधानी हुनुपर्छभनेर दौडिरहेका नगरले वराहक्षेत्रको सीमाभित्र पर्ने सप्तकोशी नदी र यहाँको जलाशयको सम्भावनालाई बेचिरहेका छन् । केही किमीमात्र नजिकमा सप्तकोशी नदी रहेको छ, चतरा नहर रहेको छ, योसँगै जलविद्युतको सम्भावना भएका थुप्रै खोलाखोल्सी छन् भन्ने प्रचार गरिरहेको छ । तर यी सबै सम्भावना र चालु अवस्थामा रहेका पूर्वाधार वराहक्षेत्रमै छन् । सातवटा नदी मिसिएर बनेको सप्तकोशी नदी, जलविद्युत आयोजना सञ्चालनमा आइरहेको चतरा नहर, यहाँको चालु अवस्थामा रहेको जलयातायात र थप सम्भावनालाई हेर्नेहो भने वराहक्षेत्र प्रदेशको राजधानी हुनुपर्छ ।

वराहक्षेत्रलाई राजधानी बनाउन सकिन्छ ? वराहक्षेत्र राजनीतिक शक्ति सन्तुलनका दृष्टिले कमजोर छ ।अर्थात् राष्ट्रिय राजनीतिमा यहाँ स्थानीय नेताको प्रभाव न्युन छ ।हुन त नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेको क्षेत्र यही हो । यही तथ्य पनि नाराका रूपमा बिक्री भइरहेको छ । यही क्षेत्रबाट एमाले सचिव भीम आचार्यले विजय हासिल गरे । यद्यपि ठूलो राजनीतिक प्रभाव र परिवर्तन यस क्षेत्रमा परेन । वराहक्षेत्र भित्रै रहेको चतरा, चक्रघट्टी, प्रकाशपुर, मधुवनलगायतका ठाउँ अझै शहरीकरणको दिशामा केन्द्रित छन् । यद्यपि राज्य पुनःसंरचना समितिले प्रदेशको राजधानीका रूपमा अघि सारेको मापदण्ड भने वराहक्षेत्रको पक्षमा ‘¥याङको ठ्याङ’ मिल्छ । यसैले पनि प्रदेशको राजधानी बनाउनुपर्छ भन्ने बहस जायज छ । प्राचीन बजार र विकासका दृष्टिले उपेक्षित भएकाले पनि यहाँको सम्भावित क्षेत्रलाई उकासेर लानु पनि राज्यको दायित्व हुन्छ ।

प्रदेशको राजधानीका दौडमा रहेका शहरभित्र पर्याप्त स्थान नहुनु, केही सरकारी मापदण्ड नपुग्नु र राज्यको शहरीकरणको नीतिलाई आत्मसात गर्ने हो भने वराहक्षेत्रलाई प्रदेशको राजधानी बनाउन सकिन्छ । सरकारी मापदण्डका अनुसार नै ‘डिस्क्वालिफाइ’ जर्जर विराटनगर, एयरपोर्ट, बसपार्क र खानेपानी जस्ता पूर्वाधार निर्माणमा समेत विवादित बनेको अस्तव्यस्त धरान, सरकारी कार्यालय समेत व्यवस्थापन गर्न नसकेको असहज धनकुटा र प्राकृतिक चपेटामा परिरहनेव्यवस्थित बसोबास हुन नसकेको इटहरीभन्दा वराहक्षेत्र सबै मापदण्डमा ‘फिट’ देखिन्छ । यहाँका बौद्धिक व्यक्तित्वले वैचारिक बहसका रूपमा यो विषय उठाउनु आवश्यक छ । धार्मिक पर्यटन, ऐतिहासिकता यहाँको महत्वपूर्ण पक्ष हो । विगतको उपेक्षा र भोलिको सम्भावनालाई हेरेर प्रदेशको राजधानी तोकिनु पर्छ,न कि राजनीतिक दबाव र प्रभावमा ।