शनिश्चरे/आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र न.३ मा वाम गठबन्धन बलियो देखिएको छ ।
क्षेत्र नम्बर ३ मा पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैंचा नगरपालिका र कानेपोखरी गाउँपालिका पर्दछ । जसका सवैगरी २६ वटा वडामा स्थानीय तहको निर्वाचनमा एमालेले २९ हजार एक सय ६२, कांग्रेसले २१ हजार ८७ र माओवादी केन्द्रले १३ हजार चार सय ९५ मत पाएको जिल्ला निर्वाचन कार्यालयमा तथ्याङ्क रहेको छ । यस मतलाई आधार मान्दा हाल एमाले र माओवादीको बाम गठबन्धनको पक्षमा ४२ हजार ६ सय ५७ मत देखिन्छ । कांग्रसभन्दा २१ हजार ५ सय ७० बढी मत अर्थात दोब्बर भन्दा बढी मत बाम गठबन्धनको देखिएको बाम गठबन्धन निर्वाचन परिचालन समिति संयोजक चण्डीप्रसाद राईले जनाए ।
स्थानीय तहको निर्वाचनमा पथरीशनिश्चरे, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकामा प्रमुख र उपप्रमुखमा एमालेले बहुमतका साथ विजयी हाँसिल गरेको थियो । सुन्दरहरैंचामा उपप्रमुखमा एमालेले जितेको थियो । त्यहाँ प्रमुखमा कांग्रेसको जित भएको थियो । ३ नम्बर क्षेत्र साविक २, ३ र ८ नम्बर क्षेत्र मिलेर बनेको छ । साविक २ बाट दोस्रो संविधानसभा निर्वाचन ०७० मा चण्डीप्रसाद राई र ८ बाट चन्द्रबहादुर गुरुङले एमालेकातर्फबाट विजय हाँसिल गरेका थिए । ३ मा कांग्रेसका दिलिप गच्छदारले एमालेका गुरुप्रसाद बराललाई मात्र ३ सय २० मत अन्तरले पराजित गरी जित निकालेका थिए ।
संविधानसभापछि स्थानीय निर्वाचनको त्यसखाले मत परिणामका कारण नेपाली कांग्रेसले बाम गठबन्धनसँग दर्विलो प्रतिष्पर्धा गर्नुपर्ने बुझेर कांग्रेस चौतर्फी रुपमा कसरतमा जुटिरहेको छ । नोवेल अस्पतालका सञ्चालक सुनील शर्मालाई सो क्षेत्रको कांग्रेसको उम्मेदवार बनाएपछि शर्माले अस्पतालमार्फत २ महिना अघिदेखि निशुल्क स्वास्थ्य शिविरका नाममा गाउँघरमा भोट माग्ने काम गरेर बाम गठबन्धनको प्रभाव निस्तेज पार्ने प्रयत्नमा जुटेका छन् ।
गत कार्तिक १६ मा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढेपछि निर्वाचन आचारसंहिताको उल्झनबाट जोगिने हिसावले ज्येष्ठ नागरिकतर्फ आफ्नो सुक्ष्म अभियान केन्द्रीत गरेको पाइएको छ । कांग्रेस कार्यकर्तामार्फत पथरीशनिश्चरे क्षेत्रमा यसबेला घर घरमा गएर ६० वर्ष उमेर पुगेका ज्येष्ठहरुलाई गाडीमा हालेर विराटनगर अस्पताल पुर्याई निशुल्क चेकजाँच र उपचार गर्नुका साथै परामर्श समेत दिएर आफ्नो पक्षमा भोट माग्ने भावनात्मक दवाव सिर्जना गर्ने काम भइरहेको बताइन्छ । रकम धेरै खर्च गरेर निर्वाचनका गतिविधि सञ्चालन गर्न सक्ने अवस्था देखेर कार्यकर्तामाझ असन्तुष्ठिबीचमा उनलाई पार्टीले उम्मेदवार बनाएको देखिन्छ । बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका पोलिटव्यूरो सदस्य एवम् प्रमुख सचेतक भानुभक्त ढकालको उम्मेदवारीको प्रतिष्पर्धाका लागि शर्माले साम, दाम, दण्ड, भेदकै शैली अपनाएर चुनावी युद्धमा होमिएको बताइन्छ । राजनीतिक थलो काठमाडौं बनाएका ढकाल र विराटनगर बसेर नोवेल अस्पताल सहितका व्यवसायिक गतिविधिमा संलग्न शर्मा सो क्षेत्रका लागि भनें राजनीतिक गतिविधिका लागि नयाँ अनुहार हुन् । राजनितिमा शर्मा भन्दा ढकाल बिज्ञका रुपमा मानिन्छन् । शर्माको राजनीतिक यात्रा छोटो रहेको छ । शर्माले ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रलाई सघाउनु भएको थियो । उनको राजनीतिक यात्रा अवसरवादका हिसावले कहिले माओवादी कहिले एमाले त कहिले कांग्रेससंग हुने गरेको छ । सो क्षेत्रमा प्रतिनिधिसभाको प्रतिष्पर्धाका लागि अर्का उम्मेदवार राष्ट्यि जनता पार्टीका तर्फबाट कमलबहादुर गुरुङको उम्मेदवारी परेको छ । प्रदेशसभातर्फ, ‘क‘’ मा कांग्रेसबाट सूयर्माराज राई, बामगठबन्धनबाट माओवादीकी गीता तिम्सिना, राजपाबाट किशोरकुमार राई उम्मेदवार छन् । प्रदेशको ‘ख‘ क्षेत्रमा कांग्रेसबाट ललितबहादुर श्रेष्ठ, बामगठबन्धनबाट एमालेका राजकुमार ओझा र राजपाबाट निर्मण गुरुङ प्रतिष्पर्धीका रुपमा निर्वाचनमा सामेल भएका छन् ।
राष्ट्यि प्रजातन्त्र पार्टीले सो क्षेत्रमा उम्मेदवार उठाएको छैन । मोरङ ३ मा १ लाख २७ हजार चार सय ९६ मतदाता छन् ।