काठमाडौं / सुन लुकाएको आरोपमा तस्करीमा संलग्न भरियाको हत्या गरिएको खुलासा भएको छ। झण्डै दुई साताअघि नागार्जुन नगरपालिका–३ मा फेला परेको शवको अनुसन्धानमा जुटेको प्रहरीले सुन तस्करी प्रकरणमा हत्या भएको तथ्य फेला पारेको हो।

रसुवा पार्वतीकुण्ड नगरपालिका–३का गगन लामाको शव असोज १६ मा फेवा परेको थियो। उनको दाहिनेपट्ट ढाडमा छुरी प्रहार गरिएको थियो। धारिलो हतियार प्रयोग गरी भएको गगनको हत्याको सम्बन्ध रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याइएको १८ किलो सुन ओसारपसारसँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ। गत असार २ मा चिनियाँ नागरिक वोई र तेञ्जिङले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ का लाक्पा ग्याल्जेन तामाङलाई १८ किलो सुन काठमाडौं पुर्याउने जिम्मा दिएका थिए।

ग्याल्जेनले आफूले पाएको जिम्मेबारी फुपूका छोरा कीर्ति भन्ने छिरिङ तामाङ, लिङ्जो भन्ने पासाङ तामाङ र गगन लामालाई सुम्पेका थिए। सुन लिएर आएका तीनै जना असार ५ देखि सम्पर्कविहीन रहे। सुनधनीले आफूले पठाएको सुन काठमाडौंमा बुझ्ने व्यक्तिको हातमा नपरेको थाहा पाएपछि तीनैजनाको खोजी जारी राखे। ६ असारमा कीर्ति भन्ने छिरिङ लाक्पाको सम्पर्कमा आए। सबै सुन गगनले बोकेर हिँडेको भन्ने छिरिङको भनाइपछि उनको खोजीमा ठूलो समूह परिचालित भयो।

६ गते साँझ सम्पर्कमा आएका गगनले उक्त सुनमध्ये २ केजी सुनधनी चिनियाँ नागरिकलाई फिर्ता गरेको र बाँकी काठमाडौंमा रहेको सुन लिन भनेर सोही साँझ ग्याल्जेन र गगनसहितका पाँचजना हिँडेका थिए। गगन बिच बाटोबाटै भागे। सुन काठमाडौ पुर्याउने जिम्मा लिएको ६ जनाको समूहले उनको खोजी जारी राख्यो। प्रहरीका अनुसार यही समूहले फोल्डिङ छुराले गगनलाई दुईपटक प्रहार गरे। पक्राउ परेकाको बयानअनुसार छुरा लागेपछि गगन चिहानडाँडा हुँदै ढुंगाखानीतिर भागे।

अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘उनको मृत्यु अत्यधिक रक्तश्रावका कारण भएको देखिन्छ।’

कान्तिपुरदैनिक