-
Home
-
HWPL Nepali
-
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनकाे गाेली प्रहारबाट मृत्यु
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनकाे गाेली प्रहारबाट मृत्यु
- असोज २३, २०७४
- ब्लाष्ट खबर
काठमाडौं/ नयाँ बानेश्वरको खरीबोट प्रयाग चोकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ। गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भइसकेको अस्पतालमा कार्यरत डा विमल थापाले जानकारी दिएका छन्। डा थापाले भने, 'गौचनलाई अस्पताल ल्याउँदा नै उनको श्वासप्रश्वास थिएन।'
प्रहरीका अनुसार उनलाई टाउको, बायाँ कोखा र छातीमा तीन गोली लागेको छ। मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ। बा१३च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडीमा रहेका गौचनलाई दिउँसो करिब ३ बजेतिर मोटरसाइकलमा रहेका व्यक्तिले गोली हानेका थिए।
गौचनलाई रमेश बाहुन समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ। महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले गौचनमाथि गोली प्रहार गर्न कारागारमा रहेका गुन्डा नाइके रमेश बाहुन भन्ने सुजन पौडेल समूहको संलग्नता हुन सक्ने बताए।
ठेक्कापट्टामा अवैध असुली गर्दै आएको बाहुन समूहले तीनदिन अघि मात्र गौचनमाथि हातपात गरेको एआइजी चन्दले बताए। 'बाहुन समूहले थप्पड हानेको भन्ने जानकारी आएको छ, त्यही समूह हो वा अन्य हो खोजी भइरहेको छ,' चन्दले भने,'अहिले काठमाडौं उपत्यकामा नाकाबन्दी गरेर खोजतलास भइरहेको छ।'
मुस्ताङको टुकुचे गाविसमा जन्मेका गौचनले २०३९ सालमा डाँफे कन्स्ट्रक्सन निर्माण कम्पनी स्थापना गरी निर्माण व्यवसायको क्षेत्रमा प्रवेश गरेका हुन्। उनले २०३८ सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सर्टिफिकेट लेभल इन सिभिल इन्जिनियरिङ प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए।
२०४० सालमा नेपाल ठेकेदार एसोसिएसन, निर्माण व्यवसायी सङ्घमा संलग्न हुँदै आएका गौचन २०५४ सालमा गठित नेपाल निर्माण व्यवसायी महासंघको सचिव भएका थिए। महासंघका तर्फबाट उनी निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफएडब्ल्युपिसिए) को बोर्ड सदस्यका रूपमा अन्तर्राष्ट्रिय सम्मेलन तथा बैठकमा सहभागी भइसकेका छन्।
नेपाललाइभ