-
Home
-
अर्थ
-
एकसातादेखि माडीमा विद्युत् सेवा अवरुद्ध
एकसातादेखि माडीमा विद्युत् सेवा अवरुद्ध
- असोज १७, २०७४
- ब्लाष्ट खबर
रत्ननगर, चितवन/चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनि गाडीको तारमा आएको खराबीका कारण दक्षिण चितवनको माडी नगरपालिकामा एक सातादेखि विद्युत् सेवा अवरुद्ध छ ।
विद्युत् नहुँदा स्थानीयवासीले यसपालि अन्धकारमै दशैँ मनाएका छन् । आजसम्म पनि विद्युत् सेवा शुरु नहुँदा स्थानीयवासी पीडित भएको माडीका गोविन्द न्यौपानेले जानकारी दिए । यहाँ चार हजारभन्दा बढी उपभोक्ता छन् ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले समस्या पत्ता लगाउने यन्त्र भारतबाट मगाउनुपर्ने भएकाले विद्युत् सेवा शुरु गर्न समय लाग्ने जनाएको छ ।
केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार यही असोज १२ गते तारमा आएको खराबीका कारण माडीमा विद्युत् बन्द भएको हो । दशैँ बिदाका कारण विद्युत् सञ्चालनको प्रयास शुरु हुन सकेको छैन ।
विद्युत् सेवा अवरुद्ध हुँदा यहाँ रहेका चार हजारभन्दा बढी ग्राहक प्रभावित भएका छन् । विद्युत् नहुँदा यहाँको टेलिफोन सेवामा समेत असर गर्ने गरेको न्यौपाने बताउछन् ।
अघिल्लो वर्ष कात्तिकमा परीक्षण सफल भई मंसिरबाट विद्युत् सेवा शुरु भएको थियो । विद्युत् बालेपछिको पहिलो दशैँसमेत उपभोक्ताले अन्धकारमा मनाउनुपरेको छ ।