धरान/धरान महेन्द्रपथका घरवालाले भाडामा रहेका टेलर्स व्यवसायीको पसलमा शुक्रबार बिहान ताला लगाएपछि टेलर्स व्यवसायी आन्दोलित बनेका छन् ।
‘भाडाको विषयमा भएको विवाद’ का कारण धरान–५ महन्द्रपथका घरवाला मनिष लोहियाले गुण्डागर्दी शैलीमा टेलर्समा ताला लगाएको व्यवसायीहरुले बताएका छन् । तालाबन्दीपछि नेपाल कपडा तथा सिलाई व्यवसायी संघ धरान गर समितिमा आवद्ध टेलर्स व्यवसायी आन्दोलित बनेका हुन् ।
लोहियाले अमिर नजामले सञ्चालन गरेको एन्जल टेलर्स, रब्बानीको फेसन बुटिक, अमजद अलीको प्रिन्स टेलर्स र अकबर अलीको योर फेसनमा व्यवसायीलाई जानकारी नदिइ नै ताला लगाइदिएका थिए । व्यवसायीहरुले सिस्टमले भाडा वृद्धि गर्नको लागि माग गर्दै आएका थिए ।
यस विषयमा सुनसरी उद्योग बाणिज्य संघ, धरान उपमहानगरपालिका, वडा कार्यालय सबैलाई व्यवसायीहरुले निवेदन दिएका थिए । तर, उक्त निवेदन उपर कारबाहीको लागि घरधनी लोहियालाई बोलाए पनि संघ, नपा तथा वडा कार्यालयको कुरालाई अटेर गर्दै आइरहेका छन् ।
भदौं २५ गते मात्रै धरान उपमहानगरका उपप्रमुख मञ्जु भण्डारी सुवेदीले लोहियासहित टेलर्स व्यवसायीलाई बोलाएर छलफल गराएको थियो । त्यस छलफलमा लोहियाले ‘आफ्नो मात्रै घर नभई भाइसमेत रहेकाले घरपरिवारमा छलफल गर्ने भनेर’ फर्किएको सिलाई व्यवसायी संघका नगर अध्यक्ष इम्तियाज सिद्दिकीले बताए ।
‘तर, शुक्रबार एक्कासी ताला लगाएएको पाइयो ।’ अध्यक्ष सिद्दिकीले भने । त्यसो त, लोहियाले दुई महिना अगावैदेखि टेलर्सहरुमा विद्युत काटेको टेलर्स व्यवसायी अमिर निजामले बताए । मनपरी रुपमा भाडा बढाउँदै आएकाले आफूहरुले यसपटकदेखि ‘सिस्टममा भाडा बढाउनु पर्ने माग’ राखेपछि उसले गुण्डागर्दी सैलीमा धक्याउँदै आएको निजामले बताए ।
यता लोहियालाई फोन गरे पनि उनको फोन लागेन ।