काठमाण्डौ । दसैंका लागि उपत्यकामा करिब ६६ करोड रुपैयाँ बराबरका खसीबोका र च्यांग्रा भित्रिने भएका छन् । खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त मूल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन् । संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याइएको छ । व्यवसायीले खसीबोका र च्यांग्रा गरी करिब ४५ हजार हाराहारीमा ल्याउने तयारी गरेका छन् । मागको आधारमा संख्या थप बढ्न सक्ने संघका अध्यक्ष दीपक थापाले बताए । एउटाको अन्दाजी चौधहजार पर्ने भएकोले करिब ६३ करोड रुपैयाँको आयात गर्ने तयारी भएको उनले बताए । दसैंमा खसीबोकाको माग उच्च हुने भएको सोहीअनुसार ल्याउन लागेको संस्थान र संघले जनाएका छन् । दसैंका लागि करिब ९० प्रतिशत खसीबोका भारतबाट आयात हने थापाको भनाइ छ । संस्थानका प्रवक्ता सापकोटाले खसीबोका खरिद प्रक्रिया अघि बढाउन जिल्ला कार्यालयमा पत्राचार गरिसकिएको बताए । चुनाव र बाढीका कारण यस वर्ष मकवानपुर र तुलसीपुरबाट मात्रै खरिद गर्ने योजना बनाएको सापकोटाले बताए । यस्तै मुस्ताङबाट कम्तीमा एक हजार च्यांग्रा खरिद गर्ने संस्थानको तयारी रहेको उनले जनाए । गत वर्ष भने १ हजार ५ सय च्यांग्रा खरिद गरिएको थियो । संस्थानका अनुसार सरकारले बिक्री गर्ने खसीबोका व्यवसायीको भन्दा सस्तो हुने हदा व्यवसायीले निर्धारण गरेको मूल्यमा कम्तीमा प्रतिकिलो १० रुपैयाँ सस्तोमा बिक्री गर्ने योजना बनाएको उनले बताए । सोही योजनाअनुसार सरकारले प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरिसकेको छ ।
संस्थानबाट अन्य खाद्यान्न पनि सहुलियत दरमा बिक्री गरिने सापकोटाले बताए । सरकारले सस्तो मूल्यमा बिक्री गरे पनि सहुलियत पसलबाट बिक्री भने न्यून मात्रामा हुने उनले बताए । गत वर्षको दसैंमा प्रतिकिलो ४ सय ४० देखि ४ सय ५० रुपैयाँमा बिक्री भएको थिया भने हाल प्रतिकेजी ४ सय ८० देखि ९० रुपैयाँमा बिक्री भएको जनाइएको छ । जिल्लाबाट ल्याउँदा ट्राफिकले दुख दिने गरेको उनिहरुको भनाइ छ । थोरै परिमाणमा भित्र्याउँदा ढुवानी, भटेनेरी डाक्टरको सिफारिस लगायतका कारण देखाउँदै दुख दिने गरेका छन् तर, भारतबाट आयात गर्दा भन्सार चेकजाँचबाहेक कुनै समस्या हुँदैन । जसले गर्दा व्यवसायीहरू स्वदेशीभन्दा भारतीय खसीबोकातर्फ आकर्षित भएको जनाइएको छ ।