सप्तरी । दुई हप्ता अगाडि आएको भीषण बाढीका कारण सप्तरीमा ७० हजार पशु प्रभावित भएको र सात हजार पशु अझै बिरामी परेको पशुसेवा कार्यालयले जनाएको छ ।
बाढीबाट ७०२ वटा पशु मरेको र ३७ वटा गाईगोठ भत्किएर पूर्णरुपमा क्षतिगस्त भएको कार्यालयले जनाएको हो ।
सो बाढीमा परेर ७८ वटा पशु बाढीले बगाएको र बाढीबाट अति प्रभावित जिल्लाको हनुमानगर कंकालनी नगरपालिकाको रम्पुरा मलहनिया, डलवा, सकरपुरा, तिलाठी, कोइलाडी र टिकुलिया, कुशाहा, वनरझुला कृष्णसवरण गाउँपालिकाको बक्धुवा, बेल्ही चपेनालगायतका ठाउँमा पशुको ठूलो क्षति भएको बताइएको छ ।
त्यस्तै सुरुङ्गा नगरपालिकाको मल्हनमामा ३०० कुखुरा, शम्भूनाथ नगरपालिका र राजविराज नगरपालिका तथा सप्तकोशी नगरपालिकाको फतेपुरमा १० लाख रुपैयाँ भन्दा बढी माछा बाढीले बगाएको माछा पालक कृषकले बताएका छन् ।
यस्तै बोदेबर्साइनमा रहेको २१ वटा बाख्रापाठा र एउटा बाछी मरेको छ । अहिले चौपायामा दूषित पानी खानाले मुख र नाकबाट पानी बग्ने, कमलपित्त, ज्वरो, निमोनिया तथा भ्यागुतेजस्ता रोगका लक्षण देखा परेको पशु स्वास्थ्य कार्यालयका प्राविधिकको भनाइ छ ।