काठमाण्डौ । केहि दिन अघि भीषण वर्षासँगै आएको बाढी तथा पहिरोले देशभरका २७ राजमार्ग र २१ वटा पुलमा गम्भीर क्षति पुगेको छ । क्षति भएको संरचना पुरानै अवस्थामा र्पुयाउन ३ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अध्ययनले देखाएको सडक विभागको भनाइ छ । नेपालमा साना प्रकोपका लागि पूर्वतयारी हुने भए पनि ठूलो परिमाणको क्षति पुर्याउने प्रकोपलाई न्यूनीकरण गर्न सरकारी योजना न्यून भएकाले यति ठूलो क्षति हुने गरेको सडक विभाग, योजना तथा डिजाइन महाशाखा प्रमुख दयाकान्त झाको भनाइ छ । सडक इन्जिनियरहरूका अनुसार सडक मर्मत गर्नभन्दा नयाँ सडक निर्माण गर्न सहज हुने बताएका छन् । सडक मर्मत गर्न देशभर जम्मा पाँचवटा मात्र निर्माण कम्पनी छन् । त्यसमा पनि पुल निर्माण गर्न कोही पनि चाहँदैन । किनकि यो जोखिमयुक्त हुन्छ । सडक विभागका अनुगमन तथा मूल्यांकन शाखा प्रमुख रमेशकुमार सिंहका अनुसार नेपालमा ठाउँविशेष सडक निर्माण लागत फरकफरक छ । तर, न्यूनतम तीन करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँ लागतमा एक किलोमिटर सडक निर्माण हुन्छ । ‘हिमाली र पहाडी क्षेत्रमा केही बढी पर्छ भने तराईमा कम पर्छ,’ उनले भने । यो माटे सडक कालोपत्रे गर्दासम्मको प्रतिकिलोमिटर लागत हो ।