धरान/भारतले बस्तु तथा निकासी कर (जिएसटि) लगाएपछि नेपालको प्रमुख नगदे बाली अदुवा रोकिएपछि त्यसका लागि पहल गरिदिन सांसद कृष्णकुमार राईलाई कृषि उपज बजार स्थल धरानले आग्रह गरेको छ । बिहीबार बिहान सांसद राईलाई बजारले ध्यानाकर्षण पत्र बुझाएको थियो । बजार स्थलका अध्यक्ष काजी गिरीले ध्यानाकर्षण पत्र बुझाउँदै अदुवा कृषक तथा व्यापारीहरु समस्यामा परेकाले यसको चाडै समस्याको समाधान गर्नको लागि आग्रह गरे । ध्यानाकर्षण पत्र बुझ्दै सांसद राईले यसविषयमा सरकारसँग र बाणिज्य मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग भेटेर छलफल गर्ने बताए । उनी बिहीबारै काठमाडौ प्रस्थान गरेका छन् । सन् २०१७ जुलाई १ तारिखदेखि भारतले निकासी ठप्प पारेको छ । जसका कारण कृषक तथा व्यापारीहरुको अर्वौको अदुवा कुहिने अवस्थामा पुगेको छ । धरानबाट मात्रै दैनिक ५ गाडी भन्दा बढी अदुवा काकडभित्ता नाका हँुँदै भारत निकासी हुने गरेका व्यापारी विनोद थुलुङले बताए । अहिले करिव ३ सय टन अदुवा धरानमा थन्किएको छ ।