धरानमा घरबहाल भाडा आतङ्क
धरान/दुईगुणा घर भाडा बढाएकोको विषयमा गुनासो गर्न जाँदा ‘मादक पदार्थ पिएको’ बहाना बनाएर भाडावाल सिलाई व्यवसायीलाई थुनेको भन्दै सिलाई कटाई व्यवसायीहरु सम्बन्धित घरधनीसँग आक्रोसित बनेका छन् ।
सिलाई व्यवसायी फिरोज अलीलाई धरान–५ महेन्द्रपथका मनिष लोहियाको मौखिक जाहेरीको आधारमा थुनेको भन्दै व्यवसायीहरु आक्रोसित बनेका हुन् । लोहियाले २० हजार रुपैयाबाट ४२ हजार रुपैया भाडा बढाएको सिलाई कटाई व्यवसायी संघका केन्द्रीय सदस्य फिरोज अलीले बताए । त्यही विषयमा घरमा गएर गफ गर्दा भनाभन भएपछि त्यसैलाई मुद्दा बनाएर थुनाएको उनले आरोप लगाए ।
तर, घरधनी लोहियाले आफूले चारवर्ष अघिदेखि नै अलीलाई घरखाली गर्नको लागि भनेको बताए । उसको व्यवहार ठिक नभएपछि घर खाली गर्नको लागि भनेको तर, पटक पटक भन्दा पनि खाली नगरेको बताए । जव घर खाली गर्नको लागि भन्यो त्योबेलामा मान्छेहरु भेला पार्ने गरेको उनले आरोप लगाए । ‘आइतबार त्यही विषयमा रक्सी खाएर बुबाआमालाई गालीगलौज गरेपछि प्रहरीमा लगेर थुनिदिएको हो ।’ उनले भने, ‘ मैले ४२ पनि मागेको छैन, चलेको चलन अनुसार दिनुपर्छ भनेको हो ।’
घरबहाल अत्यधिक बढाएको निहुँमा सिलाई व्यवसायीहरुलाई सुनसरी उद्योग बाणिज्य संघ धरानमा ढेड महिना अघि निवेदनसमेत दिएका थिए । उक्त निवेदन आएको उवा संघका अध्यक्ष राजेन्द्र साहले पुष्टी गरे । भने, ‘अत्यधिक भाडा बढायो भनेर टेलर्सवालाहरुले निवेदन दिएको थियो ।’ उनका अनुसार त्यो विषयमा बुझ्दा दुईदाजूभाइ मध्ये ‘एउटाले भन्छ मैले गरेको हैन, अर्कोले भन्छ मैले गरेको होइन’ भनेर फोनमार्फत जवाफ दिएको थियो ।
यता इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले उनीहरुबीचमा दुई चरणमा छलफल गराइसकेको बताए । उनका अनुसार लोहियाको घरमा मापासे गरेर थर्काएको भनेको छ त्यही आधारमा थुनिएको बताए । र, छलफल सोमबार पनि बस्ने कुरा भएको डिएसपी खतिवडाले बताए । यता लोहियाले टेलर्स व्यवसायी अकवर अली, एन्जल टेलर्सलगायतलाई उजुरी हालेको केन्द्रीय सदस्य अलीले बताए ।