‘भोट केमा रुखमा । भोट केमा रुखमा । नेकपा एमाले जिन्दावाद..’

यो नारा लाएको भिडियो पहिलो चरणको स्थानिय निर्वाचन ताका खुब भाइरल भयो । तराईका भुमिपुत्र चौधरी जस्ता देखिने केहि युवाहरुले लगाएको नाराको त्यो भिडियो भाइरल भएको केहि समय लगत्तै दलहरुले त्यस्तै चुनावी गठबन्धन गर्न थाले । एमाले र राप्रपा अनि कांग्रेस र माओवादीले मोर्चाबन्धि गरेर चुनाव लढे । जसमा पोखरा र चितवनमा कांग्रेस र माओवादीले गरेको चुनावी मोर्चा चर्चामा रहे । एमाले र राप्रपाले राजधानी काठमाण्डौ र ललितपुरमा गरको चुनावी गठजोड पनि रोचक रह्यो ।

देशका मुख्य चार दलहरुले एक्लै चुनाव नलडेर मोर्चाको महँशुस गरे । पहिलो आकारको पार्टी कांग्रेसले तेश्रो आकारको माओवादी केन्द्रसँग मिल्यो । दोश्रो आकारको एमालेले चौथो आकारको राप्रपासँग मिल्यो । अन्य देशहरुमा प्रायः हुने सत्ता पक्षको विरोधमा विपक्षि दलहरु एकजुट हुने कल्चर नाघेर नेपालका दलहरुले अर्को नयाँ राजनितिक प्रचलनको प्रारम्भ गरे । सत्तारुढ दलहरु प्रमुख प्रतिपक्षिसँग गढबन्धन गर्ने । प्रमुख प्रतिपक्षले अर्को प्रतिपक्षीसँग गर्ने । कतैकतै त सत्तारुढ र प्रतिपक्षीहरु समेत मिलेर चुनावी मोर्चा बनाए । धेरैले गठबन्धन गरेर चुनावमा भाग लिएकोमा जति आश्चार्य माने त्यो भन्दा आश्चार्य त्यति बेला माने जब गठबधन्धनमा आँउनुपर्ने जस्तो मत दलहरुले पाएनन । भरतपुरमा कांग्रेस उम्मेदवारले फराकिलो अन्तरले लिड गर्नु तर माओवादी केन्द्रकि मेयर उम्मेदवार पछि पर्नु त्यसको एउटा उदाहरण हो । यस्तै काठमाण्डौँमा एमालेले मेयर जित्नु तर राप्रपाले उपमेयरमा धेरै कम मत ल्याएर हार्नु अनि ललितपुरमा नउठेका एमालेका उपमेयरले भारी मत ल्याउनु पनि असफल गठबन्धनका खुल्ला उदाहरणहरु हुन ।

हुन त अपरझट बनेका गठबन्धनहरुमा स्थनिय नेता कार्यकर्ताको सुरुबाटै असन्तुष्टि थियो । ‘हात काटिन्छ तर माओवादीलाइ भोट हालिन्न’ भन्ने भरतपुरमा कांग्रेस सुभेच्छुकको नारा र ‘राजावादीसँग चुनावी मोर्चा हुन्न’ भन्ने राजधानीका एमाले सुभेच्छुकहरुका सामाजीक संजालमा व्याक्त विरोध त्यहि असन्तुष्टिका सतहमा आएका केहि दृष्यहरु हुन ।

यो त भयो पहिलो चरणमा प्रदेश नम्बर ३,४ र ६ मा भएका चुनावी गठबन्धनहरु लगभग असफल भएका पृ्ष्ठभुमि र परिणामहरु । पहिलो चरणमा चुनावी गठबन्धन असफल भएको बुझेका दलहरुले दोश्रो चरणमा त्यस्तो फुर्तिफार्तिले चुनावी मोर्चाहरुको घोषणा गरेनन । तर, प्रदेश एकको एक्लो महानगर विराटनगरमा एमाले र लोकतान्त्रिक फोर अनि माअ‍ेवादी केन्द्र र समाजवादी फोरम विचको गठबन्धनले पुनः गठबन्धनका समिकरणहर दोहोर्याए । धरानमा त माओवादी केन्द्र, समाजवादी फोरम, नयाँ शक्ति नेपाल, लिम्बुवान तथा खम्बुवान जस्ता दश दलहरुको एउटै चुनावी मोर्चा बन्यो । तर, अहिले सम्म त्यस्ता गठबन्धन गरिएका कतै पनि गठबन्धनका दुवै घटकले समान मत पाएका छैनन । अर्थात दोश्रो चरणको नेताहरुले बनाएको चुनावी गठबन्धन पनि एक खाले असफल नै देखिएको छ ।

जनताको मौन ‘तालमेल’ संस्कार नेताले गरेका चुनावी तालमेलहरु आँखै अगाडी झलझलि देखेको मैले दोश्रो चरणमा जनताहरुले गरेका तालमेल पनि प्रत्यक्ष देख्न पाँए । पुर्वको उपमहानगर इटहरीका वडा नम्बर १,३ र २० नम्बर वडामा खसेका मतहरु हेर्दा जनताको मौन तालमेल देखिन्छ । इटहरीमा एमालेका राम्रो आधार इलाका भनिएका वडाहरु १,३ र २० मा कांग्रेस र एमालेलाइ मिलाइ मिलाइ मत हालेको देखियो । जस्तैः मेयर, उपमेयर र वडाध्यक्षमा रुखमा चिन्ह लाएर बाँकि चार सुर्यमा भोट लाएको पाइयो ।यस्तै मतगणनास्थलमा १५ गते देखि १८ गते सम्म गरेको अवलोकनले त्यो देखायो । इटहरी नजिकै पर्ने मोरङमा विराटनगर पछि दोश्रो ठुलो मतादाता भएको नगरपालीका सुन्दरहरैचामा पनि जनताको तालमेल पाइयो । धेरैले मेयरमा रुखमा हालेर बाँकि सूर्यमा हालेको पाइयो । इटहरीमा कतिपय मतहरुमा त मेयरमा सुर्य र बाँकि रुखमा, मेयरमा रुख तर बाँकि गाइमा हालेको पाइयो ।

सायद स्थानिय चुनाव भएर हुनुपर्छ धेरै जनताहरुले यो चुनावमा दलहरु भन्दा व्याक्ति हेरेको देखिएको छ । स्थानिय भुगोलमा भिजेका र सामाजीक व्याक्तित्वहरुलाइ भोट हाल्न पुरानो दलिय रेड लाइन क्रस गरेर जनताहरुले भोट हालेको पाइयो । आफ्नो दलमा प्यानल भोट मात्रै हाल्ने भनिएका एमालेका थुप्रै कार्यकर्ताहरुले पनि यो चुनावमा क्रमभंग गरेका छन । इटहरीका वडा नम्बर १,३,६ र २० मा यसका उदाहरणहर देख्न पाइयो । यि वडाहरुमा वडाध्यक्षमा रुखलाइ भोट हालेर बाँकि सुर्यमा हालेको पाइयो । मोरङको सुन्दरहरैचामा त सबैभन्दा धेरै जनताको तालमेल भएको पाइयो । धेरै एमालेका भोटर्सले मेयरमा रुखलाइ हालेर बाँकि सुर्यमा हालेका कयौँ उदाहरणहरु देखिए । उपमेयरलाइ मेयर भन्दा बढि मत दिएर त्यो तालमेल गरेको देखिन्छ । कतिपय एमालेका युवाहरुले त सुन्दरहरैँचामा एक छाप मेयरमा रुख र बाँकि ६ छाप सुर्यमा भोट हालिएको ट्रेण्डलाइ इन्कित गर्दै नयाँ फेशबुक स्टाटस नै लेखेः ६ छापे कमरेडहरुलाइ लाल सलाम !

जनताको मौन तालमेलको अन्तर्य इटहरी र सुन्दरहरैचामा मात्रै हैन चितवन, विराटनगर, झापा र काठमाण्डौमा पनि यस्ता क्रस भोट आएका धेरै कुराहरु आएका छन । यो एउटा खास दल भित्रको मात्रै कुरा हैन । यो त सबै दल र सबै भुगोलमा देखिएको साझा ट्रेण्ड हो । सायद देशभर यो ट्रेण्ड प्रचलित छ । र पछिल्लो समय बाट बढ्दो क्रममा छ ।

कुनैपनि दलका खास कार्यकर्ताहरु नै आफ्नो दलका उम्मेदवारलाइ किन भोट हाल्न तयार छैनन ? किन आफ्नो आस्थाको पार्टीको ट्याग जिवनभर बोकेर पनि भोटिङ भएका दिनमा मतदाताहरु अर्को अमुक पार्टीलाइ भोट हाल्न आफ्नो स्वास्तिक हल्लाँउछन ?के पैशामा बिकेर वा केहि व्याक्तिगत कुण्ठाले मात्रै यो सब संभव भएको हो ?यि र यस्ता धेरै प्रश्नको परिधिहरुमा प्रवेश गर्नु अगाडि हामीले चुनावमा उम्मेदवार छान्ने प्रकियाको तौरतरिका हेर्नुपर्ने हुन्छ । के एउटा राम्रो जनाधार भएको र आफ्नो ठाँउका बहुसंख्यक पार्टीका संगठित सदस्यहरु आफ्नो पक्षमा भएको एमाले नेताले स्वतः टिकट पाँउछ ? के आफ्नो भुगोलमा रहेका धेरै क्रियाशिल सदस्यहरु र स्थानिय नेताले मानेको कांग्रेस नेताले पार्टी बाट चुनावी टिकट पाँउछ? यि प्रश्नहरुको उत्तर अधिकांश पाँउदैन भन्ने आँउछ र आएका थुप्रै उदाहरणहरु पनि छन ।

हामीले देखेका छौँ स्थानिय पाटीपंक्तिले पत्याएको भन्दा नेतृत्वको चाकरी गर्नेले बढि टिकट पाएका छन । हामी कहाँ थुप्रै उदाहरणहरु छन जहाँ जनताको घरदैलौ भन्दा नेताको आँगन टेक्नेले आफ्नो दलको मेयर, उपमेयर, वडाध्यक्षको टिकट हत्याएका छन । यो सबै हुँदा जनताले तालमेल नगरेर के गर्ने ?निर्णयक घडिमा पार्टीले गलत गरेपछि पार्टीलाइ गलत कुराका सबक सिकाँउन तालमेल नगरेर के गर्ने ?सिमीत दलका नेताहरुको व्याक्तिगत लेनदेन, सत्ता समिकरण र मिलेमतोमा स्थानिय नेताकार्यकर्ताको भाग्य र भविष्यलाइ अन्धकार पारेपछि आफ्नै तरिकाको तालमेल नगरे के गर्ने?

हो यि र यस्ता हेपायति कुराहरु कार्यकर्तामा नलादिए सम्म अपवाद बाहेक नेताहरुले भन्ने अन्तरघात र मैले भन्ने जनताको तालमेल जारि रहन्छ । जहाँजहाँ जनताको तालमेल हुन्छ बुझौ त्यहाँ पार्टीले कार्यकर्तालाइ भोट बैंक बाहेक केहि ठानेन र आजीत भएर कार्यकर्ताले विद्रोह गरे । जहाँजहाँ जनताको तालमेल हुन्छ बुझौँ त्यहाँ पार्टी नेताले आफ्नो पार्टी र कार्यकर्ताको भावना भन्दा अफ्नो स्वाथ्र्य बढि लादे र जनताले ब्लालेट बाट विद्रोहका आवाज बुलन्ध गरे ।

चुनावमा टिकट बाँड्नु अगाडि स्थानिय जतमत, पार्टी भुगोलको अवस्थामा उम्मेदवारको चिनापर्चि र योगदान जस्ता कुराहरु विचार गरे दलहरुमा यो समस्या स्वतः हटेर जान्छ । पार्टी नेतृत्वले भनेको लाइनमै सबै कुराहरु मान्नुपर्छ हैन भने कारवाहि गरिन्छ भन्ने हो भने कस्ले कस्लाइ कारवाहि गर्ने ? यो त राणाकाल, पन्चायत काल र शाहि काल त हैन होला । सबैका आफ्ना आवाज त हुन्छन होला र भएका आवाजहरु सम्बन्धित दलहरुले सुन्नु र सम्बोधन गर्न त पहिला प्राथामिकता पनि होला । दलहरुले आफ्ना उम्मेदवार छान्न पहिले पार्टीकै कार्यकर्ता माझ भोट वा सर्वसम्मत गराएर सांसद, मेयर , उपमेयर, गाँउपालिका प्रमुख तथा उपप्रमुख अनि वडाध्यक्ष र सदस्यहरु छान्ने हो भने यो समस्याको स्थायि समाधान हुन्छ । हैन भने जनताको तालमेल जारि रहन्छ र फेसबुकमा मात्रै हैन मतपत्रमै त्यहि नारा घन्किन्छः भोट केमा रुखमा । भोट केमा रुखमा । नेकपा एमाले जिन्दावाद..’