धरान/रेविज रोगलाई न्युनिकरण गर्न धरान नगरपालिकाले कुकुर बन्ध्याकरणलाई प्राथमिकता दिन थालेको छ । हार्ट नेपालको प्राविधिक सहयोगमा चारवर्ष यतादेखि कुकुर बन्ध्याकरणलाई धरान उपमहानगरले प्राथमिकता दिन थालेको हो । यसले गर्दा सामुदायिक कुकुरहरुको संख्यामा कमी आएको छ । बन्ध्याकरणसँगै एन्टी रेविज सुईसमेत लगाउने गरिएको धरान उमहानगरपालिकाका सामाजिक विकास शाखा अधिकृत सुनिल नेपालले बताए । उनले कुकुर मार्ने प्रचलनको अन्त्यको लागि पनि यो कार्यक्रम ल्याइएको बताए । यो वर्ष पनि २६३ वटा धरानभरीका सामुदायिक कुकुरहरुलाई बन्ध्याकरण र रेविजको सुई लगाइएको नगरपालिकाकी लैगिक समानता तथा सामाजिक समावेशिकरण कार्यक्रमकी स्रोतव्यक्ति हेमा थलङले बताइन् । थलङले धरान उमपहानगरले आगामी वर्षबाट सेल्टर बनाएर सुविधा प्रदान गर्ने बताइन् । त्यस्तै निजी रुपमा कुकुर पालन गर्नेहरुको दर्ता गर्ने कार्यक्रमसमेत ल्याउन लागेको बताइन् । ‘निजी कुकुरलाई ग्रिन सिग्नल प्रदान गर्छौ’ उनले भनिन्, ‘सामुदायिक कुकुरलाई रातो सिग्नल प्रदान गर्छौ ।’ दर्ता पछि वार्षिक रुपमा कुकुरहरुलाई चाहिने ‘भ्याक्सिन’ हरु प्रदान गरिने उनले बताइन् । गत जेठ २३ गतेदेखि धरानमा पेट्स होमको सहकार्यमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण कार्यक्रम एकसाता गरेको छ । बन्ध्याकरणका कारण कुकुरहरुको उत्पादनमा कमी आएको छ । एउटा कुकुरले सामान्यतः ५ वटा बच्चा जन्माउने बताइन्छ । त्यही अनुसार धरानमा करिव ७ सय सामुदायिक कुकुरहरु रहेको अनुमान धरान उपमहानगरको छ । त्यो हिसावले वार्षिक रुपमा ३५ सय कुकुरका बच्चा उत्पादन हुने हुन्छ । जसले गर्दा कुकुरको व्यवस्थापनमा चूनौति र रेविज फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरेरै बन्ध्याकरण कार्यक्रम ल्याएको नगरपालिकाका प्रतिनिधिको भनाइ छ । यसैविषयमा बुधबार धरान उपमहानगरले ‘धरानमा कुकुर व्यवस्थापन तथा रेविज नियन्त्रण प्रयास तथा योजना सम्बन्धी परिचयात्मक गोष्ठी’ सम्पन्न गरेको छ । जसमा कुकुरहरुको व्यवस्थापन गर्ने विषयमा १० मिनेटको भिडियोसमेत सार्वजनिक गरिएको थियो । जसलाई कृति टिभीका कार्यक्रम निर्देशक मोहन श्रेष्ठले प्रस्तुती गरेका थिए ।