धरान/शुक्रबार कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धानद्वारा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा कम्तीमा पनि आइतबारसम्म हिरासतमा रहने भएका छन् । उनलाई पक्राउ परेको २४ घण्टाभित्र विशेष अदालतमा पेश गर्नुपर्ने भएपनि भोलि शनिबार सार्वजनिक बिदा हुने भएकाले आइतबार कार्यालय समयमा मात्रै पेश गरिने अख्तियार स्रोतले शुक्रबार बतायो । स्रोतका अनुसार आज शर्मामाथि अनुसन्धाननै चलिरहेकाले अदालतमा पेश गर्न नभ्याइएको र भोलि शनिबार परेकाले आइतबारमात्रै अदालतमा पेश गर्ने गरि अहिले अख्तियारकै हिरासतमा राखिएको छ  । अदालतको स्वीकृतिमा अख्तियारले उनलाई थप थुनामा राख्न वा धरौटीमा रिहा गर्न सक्नेछ । पक्राउ परेपछि छानबिनमा परेको व्यक्तिले अनुसन्धानमा पुर्याउने सहयोगका आधारमा अनुसन्धान अधिकृतले थुनाबारे निर्णय गर्ने अख्तियारका एक उच्च अधिकारीले बताए । शर्मालाई अख्तियारले अस्वभाविक रुपमा कर मिनाहा गरेर राज्यलाई अर्बौं रुपैयाँ घाटा पारेको आरोपमा नियन्त्रणमा लिएको थियो । राज्यलाई अर्बौं घाटा पारेको सम्बन्धमा बयानका लागि अख्तियारमा उपस्थिती गराइएको र सोहि क्रममा पक्राउ गरिएको अख्तियार स्रोतको भनाई छ । लुम्धध्वज महतको अध्यक्षतमा बनेको कर फर्स्यौट आयोगले शर्माकै मिलेमोतोमा अस्वभाविक रुपमा अर्बौं रुपैया कर मिनाहा गरेको र राज्यलाई घाटा पारेको प्रतिवेदन तयार गरेको थियो । सोही प्रतिवेदनका आधारमा शर्मालाई बयानकालागि अख्तियार लगिएको थियो । अख्तियारबाट पक्राउ सँगै विवादास्पद पृष्ठभूमीका शर्मा निलम्बित भएका छन् ।