सुनकाे भाउ ह्वात्तै घट्याे
- वैशाख २७, २०७४
- ब्लाष्ट खबर
मङ्गलवार अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ घटेर ८ हप्ताकै न्यून बिन्दुनजिक ओर्लिएको छ । फ्रान्समा राष्ट्रपति निर्वाचनपछि राजनीतिक चिन्ता हटेपछि सुरक्षित लगानीका रूपमा हेरिने सम्पत्तिको माग घट्दा पहेँलो धातु दबाबमा आएको हो । न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा उक्त दिन कारोबार शुरू भएदेखि नै सुनको भाउ निकै तलमाथि भएको थियो । उक्त दिन सुनको भाउ न्यूनतम प्रतिऔंस १ हजार २ सय २४ डलर १४ सेण्टसम्म आएको थियो । यो मार्च १६ यताकै न्यून हो ।
यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार साँझ ४ बजे स्पट गोल्ड प्रतिऔंस शून्य दशमलव शून्य ३ प्रतिशतले घटी १ हजार २ सय २४ डलर ९४ सेण्टमा किनबेच भइरहेको थियो । उता सोही अवधिमा यूएस् गोल्ड फ्युचर्स पनि शून्य दशमलव १ प्रतिशतले घटी १ हजार २ सय २६ डलर २० सेण्ट कायम भएको थियो । अहिलेको सबैभन्दा ठूलो राजनीतिक जोखीमका रूपमा हेरिएको फ्रान्सेली राष्ट्रपतीय निर्वाचनमा इम्यानुएल म्याक्रोँको जितपछि शेयरलगायतका जोखीमयुक्त सम्पत्तिमा लगानीकर्ताहरूको लगानी बढेको छ ।
माग सुस्तायो
गत त्रैमासमा सुनको माग घटेको छ । पहिलो त्रैमासमा सुनका सबैभन्दा ठूलो संस्थागत लगानीकर्ताहरू एक्सचेञ्ज ट्रेडेड फण्ड्ज (ईटीएफ)हरूमा सुन आप्रवाह सुदृढ रहे पनि समग्र माग भने सुस्ताएको हो । जनवरी–मार्च त्रैमासमा सुनको माग वार्षिक १८ प्रतिशतले घटेको वल्र्ड गोल्ड काउन्सिल (डब्ल्यूजीसी)ले बताएको छ । १ वर्षअघिको सोही अवधिमा लगानीकर्ताहरूको सुनको माग निकै उच्च रहेकाले पनि यति धेरै कमी आएको हो । गत त्रैमासमा केन्द्रीय बैङ्कहरूको सुनको माग २७ प्रतिशत घटी ७६ दशमलव ३० टनमा ओर्लिएको छ । सो अवधिमा ईटीएफ हरूको सुनको माग बढेर १ सय ९ दशमलव १० टनमा पुगेको छ । मार्च त्रैमासमा सुनका बार र सिक्काको माग वार्षिक ९ प्रतिशतले बढी २ सय ८९ दशमलव ८० टनमा उक्लिएको छ । यद्यपि, गरगहना र प्रविधि क्षेत्रको माग भने सुस्त रहेको छ । एजेन्सीहरू