बेलायती पत्रिका ‘द गार्जियन’ ले बेलायती नागरिकका लागि छुट्टी विताउन नेपाल उत्तम गन्तब्य रहेको उल्लेख गरेको छ । मुद्रा स्फितीको मार खेपिरहेका बेलायती नागरिकलाई अमेरिका, फ्रान्स, स्पेनजस्ता परम्परागत गन्तब्य महंगो पर्ने भन्दै ‘लोकतान्त्रिक अभ्यासमा अघि बढेको’ नेपाल उचित उत्कृष्ट गन्तब्य हुने उक्त पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ ।

माओवादी हिंसा, राजापरिवारको वंशनाश र महाभूकम्पबाट भर्खरै मात्र पार पाएर अगाडि बढेको नेपालमा यात्रा गर्नेहरुलाई सन्तुष्ट बनाउने र आशावादी हुने थुप्रै ठाउँहरु देखिन थालेको द गार्जियनको रिपोर्टमा उल्लेख छ ।केभिन रश्बीको उक्त रिपोर्टमा प्रेरणादायी पहाडी मुलुक नेपालमा वन्यजन्तु, मठमन्दिर, पुरातात्विक शहर र भिन्न संस्कृतिको अनुभव गर्न पाइने र नेपालमा हाइकिङ गर्ने प्रशस्तै ठाउँहरु रहेको पनि उल्लेख छ ।

युरोपियन युनियनबाट छुट्टिएपछि पाउण्डको मूल्य गिरेको उल्लेख गर्दै उक्त रिपोर्टमा अधिकांश बेलायती नागरिकहरुले आफ्नो छुट्टि विताउने योजना परिवर्तन गरी देशभित्रै घुम्न चाहेको उल्लेख गरिएको छ । त्यस्ता नागरिकहरुका लागि पत्रिकाले नेपाल जान सिफारिस गरेको हो । भर्खरै सार्वजनिक भएको अनुसन्धानको रिपोर्ट अनुसार पाउण्ड स्ट्रलिङ्को दर घटेसँगै ४१ प्रतिशत बेलायतीले आफ्नो भ्रमणको तालिका परिवर्तन गर्ने योजना बनाएका छन् ।

नेपालपछि अन्य देशहरु– दक्षिण अफ्रिका, अल्बानिया, बुल्गेरिया, कोलम्बिया, इरान, नामिबिया, मलेशिया, केन्या र सर्वियालाई क्रमशः घुम्न जाने देशहरुको सूचिमा राखिएको छ ।