धरान/ पूर्वी नेपालको सुनसरीमा अत्यधिक मात्रामा शेयर कारोबार गर्ने सहरको रुपमा परिचित धरानमा दोस्रो शेयर खरिद–बिक्री केन्द्र सञ्चालनमा आएको छ । केही समयअघि राजधानीमा मात्र केन्द्रित रहेको शेयर कारोबारलाई देशका १८ प्रमुख सहरहरुमा विस्तार गर्ने क्रममा पूर्वको धरानमा ब्रोकर नम्बर ४९, अनलाइन सेक्युरिटिजले शाखा खोलेको छ । अनलाइनले आइतबार सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहबाट शेयर कारोबार गर्ने कार्यालयको उद्घाटन गराएको हो । अनलाइनका अध्यक्ष दिनेश शर्माले अब चाँडै नै निक्षेप सदस्य अर्थात् डीपीसहितको सेवा दिएर पूर्वी नेपालका लगानीकर्ताहरुलाई शेयर कारोबारको गुणस्तरीय सेवा दिइने बताएका छन् । अनलाइनले धरान वडा नम्बर ६ को कलेजरोडमा सिद्धार्थ र जनता बैंक रहेको भवनको बीचमा कार्यालय खडा गरेको हो । काठमाडौंमा भने अनलाइनको कार्यालय पुतलीसडकको शंकरदेव क्याम्पसनजिक छ । धरानमा राफसाफ गर्ने बैंकहरु पनि नजिकै भएकाले शेयर कारोबार गर्न सहज हुने अपेक्षा गरिएको शर्माले जानकारी दिए । उनले आफ्नो कम्पनीले शाखा स्थापना गरेपछि पूर्वी नेपालका लगानीकर्ताहरुबाट उत्साहपूर्ण प्रतिक्रिया आएको भन्दै लगानीकर्तालाई उचित परामर्र्श सहित सहज रुपमा किनबेच सेवा दिन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धरानमा यसअघि ब्रोकर नम्बर १७ को एबीसी सेक्युरिटिजले मात्र कार्यालय खोली शेयर कारोबार सेवा दिँदै आएकोमा हाल अर्को ब्रोकर कार्यालय खोलिएपछि सर्वसाधारण जनताले सजिलै कारोबार गर्न सक्ने शेयर कारोबारी तथा प्रशिक्षक भक्तराज रसाइलीले बताए ।