काठमाडौं/ केही दिनयता निरन्तर उकालो लाग्दै आएको शेयर बजारमा बुधबार साढे २ अर्ब रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । मङ्गलबार १ अर्ब ३८ करोड शेयर कारोबार भएकोमा बुधबार यो रकम बढेर २ अर्ब ५६ करोड पुगेको छ ।

गत साताभर साढे ६ अर्बको शेयर कारोबार भएको थियो ।बुधबार १ सय ४९ कम्पनीका ४९ हजा कित्ता शेयर कारोबार भएका छन् । १६१० अङ्कमा खुलेको शेयर बजार १२ मिनेटमै १६४२ अङ्कसम्म उक्लिएको थियो ।

त्यसपछि बजार बढ्ने क्रममा ब्रेक लागेकोमा अन्त्यसम्म २२ दशमलव ३३ अङ्कको गिरावटसँगै १५८८ दशमलव २९ अङ्कमा ओर्लिएको थियो ।

बुधबार सबैभन्दा बढी नेपाल बङ्गलादेश बैङ्कको ३८ करोड रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ । बैङ्किङ २० दशमलव ०५, होटल ६६ दशमलव २७, विकास बैङ्क १६ दशमलव ९८, जलविद्युत् ७३ दशमलव ९९, फाइनान्स १२ दशमलव ६, बीमा १५२ दशमलव ३२, उत्पादनमूलक १ दशमलव ७६ र अन्य समूह उपसूचक १ दशमलव ४४ अङ्कले घटेका छन् ।

ट्रेडिङ उपसूचकमा भने १ दशमलव ६८ अङ्कको वृद्धि देखिएको छ ।