इनरुवा / भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर घाइते भएका सुनसरीका पीडितले एक वर्ष बित्दासमेत क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका छन् ।
एक वर्षअघि एसएसबीका जवानले चलाएको गोली लागेर घाइते भएका सुनसरीका चार युवाले अझैसम्म पनि क्षतिपूर्ति पाएका छैनन् । गत वर्ष भारतद्वारा सीमाक्षेत्रमा गरिएको अघोषित नाकाबन्दीको समयमा तस्करहरूलाई लखेट्दै आउने क्रममा एसएसबीका जवानले नेपाली भूमिमा गोली हानेर हरिपुर गाविस–९ का चार युवालाई घाइते बनाएका थिए । घटना भएको एक वर्ष बित्दासमेत क्षतिपूर्ति र उपचार खर्च पाउन नसकेको गुनासो पीडितहरूले गरेका छन् ।
एसएसबीको गोलीबाट हरिपुर–९ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका थिए । उनीहरूले उपचार खर्च र क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका हुन् । त्यस बेला उपचारमा अशोकको ३ लाख ६५ हजार, सरोजको २ लाख ५० हजार, नरेशको २ लाख र मनोजको ५० हजार रुपैयाँ खर्च भएको उनीहरूले जनाए । कञ्चनपुरको महेन्द्रनगरमा एसएसबीको गोलीबाट ज्यान गुमाएका गोविन्द गौतमलाई राज्यले शहीद घोषणासँगै राजकीय सम्मान, १० लाख रुपैयाँ क्षतिपूर्तिलगायतका सहयोग उपलब्ध गराए पनि आपूmहरूले उपचार खर्चसम्म अझै नपाएको उनीहरूको गुनासो छ । राज्यले आन्दोलनको भाषा मात्र बुझ्ने भएकाले गौतम परिवारले क्षतिपूर्ति पाएको तर आफुहरू घाइते भई ‘जिउँदो शहीद’ भएर बाँच्दा कुनै सहयोग नपाएको पीडितहरूको भनाइ छ ।
छ वर्षअघि नेपालमै प्रवेश गरी एसएसबीद्वारा गोली प्रहार गरी हत्या गरिएका मोरङको अमाहीबरियाती–७ खयरबोनाका वासुदेव साह अहिलेसम्म न शहीद घोषणा गरिए, न त उनको परिवारले कतैबाट क्षतिपूर्ति नै पायो । स्थानीय समाजसेवीका रूपमा चिनिएका ५५ वर्षीय साहले ज्यालामजदुरी गरेर परिवारलाई पालेका थिए । उनको परिवारलाई नेपाल र भारत सरकार कसैले पनि अझैसम्म एक पैसा क्षतिपूर्ति दिएका छैनन् । नेपाल सरकारको प्रशासनले तत्काल शहीद घोषणा गराउने, क्षतिपूर्ति दिलाउने र दुईजना छोरालाई सरकारी जागिरमा सिफारिस गरिदिने भनेर दिएको वचन अझै पूरा भएको छैन ।
क्षतिपूर्ति पाउने आशामा उनको परिवार पटक–पटक जिल्ला प्रशासनदेखि मानवअधिकारकर्मी र पत्रकारहरूकहाँ विलौना गर्दै धाएर हैरान भएको छ । साहका माइला छोरा किशोरकुमारले भने, ‘क्षतिपूर्ति त परै जाओस्, प्रहरीमा भर्ती हुन जाँदा सिफारिस हुन्छ कि भनेर रोईकराई गर्यौँ तर वास्तै गरिएन । वाक्क भएपछि अब त हारगुहार गर्न पनि छाडिसक्यौँ ।’ किशोर र उनका भाइले प्रहरीमा भर्ती हुन दुईपटक आवेदन दिएका थिए ।
एसएसबीले २०६७ जेठ ११ गते साँझ ९ बजे नेपाली भूमिमै आएर पेस्तोलले गोली प्रहार गरी नेपाली नागरिक साहको हत्या गरेका थिए । अवैध ओसार–पसार गर्नेहरूले पैसा नदिएको झोँकमा तिनलाई लखेट्दै एसएसबीका इन्स्पेक्टर हितेन्द्र सिंह र अर्का एक कन्स्टेबल नेपाली भूमिमा प्रवेश गरेका थिए । नेपाली प्रहरीसँग विवाद भएको रिसमा उनीहरूले स्थानीय शाहको निर्मम हत्या गरेका थिए । उनीहरू सीमावर्ती भारतीय गाउँ गरैया लैलोखर सीमा सुरक्षा क्याम्पबाट आएका थिए ।
रातको समयमा हतियार लिएर एसएसबी अधिकारी विनाअनुमति नेपाली भूमिमा प्रवेश गरेको भन्दै अमाही चौकीमा कार्यरत् प्रहरी हवल्दार शम्भु यादवले विरोध गरेका थिए । त्यसपछि हवल्दार यादव र एसएबीका इन्स्पेक्टर सिंहबीच चर्को भनाभन भएको थियो । गर्मी छल्न चौतारामा बसेका साह गाउँमा नेपाली प्रहरीलाई भारतीय प्रहरीले हप्काउँदै गरेको सुनेर झगडा छुट्याउन पुगेका थिए । तर मादक पदार्थ खाएका सिंहले रिसको झोँकमा कम्मरमा भिरेको पेस्तोल झिकी नेपाली हवल्दार यादवमाथि गोली प्रहार गरेका थिए । तर सो गोली झगडा मिलाउन गएका साहलाई लाग्दा घटनास्थलमै उनको मृत्यु भएको थियो ।
आक्रोशित स्थानीयले साहको शव मोरङको जिल्ला प्रशासनमा ल्याएर गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही नभएसम्म सदगद नगर्ने अडान लिएका थिए । स्थानीय राजनैतिक दल र प्रशासनले क्षतिपूर्ति दिलाउने, शहीद घोषणा गराउने र भारतीय प्रहरीलाई कारवाही गराउने लिखित प्रतिबद्धता जनाएपछि उनीहरू विश्वस्त भएका थिए । तर हालसम्म कुनै प्रतिबद्धता पूरा नभएको साहकी पत्नी उर्मिलादेवी बताउँछिन् । भन्छिन्, ‘गोली हान्ने हत्यारा इन्स्पेक्टरलाई भारतले बढुवा गरेर तत्काल सरुवा ग¥यो तर हाम्रो सरकारले हामीलाई केही गरेन ।’ उनले परिवार चलाउने पतिको अकालमा मृत्यु भएपछि आपूmले निकै कष्टले तीनजना छोरा र चार छोरीलाई हुर्काएको पीडा सुनाइन् । उनका अनुसार पतिको मृत्युपछि परिवार चलाउन उनका तीनैजना छोराले पढाइसमेत बीचैमा छाड्नु पर्यो ।
मोरङ प्रशासनले उनको परिवारलाई क्षतिपूर्ति दिलाउन पटक–पटक ताकेता गर्दा पनि भारतीय पक्षले नदिएको कारण उपलब्ध गराउन नसकेको बताउँदै आएको छ । मानव अधिकारकर्मी सोमराज थापा भने नेपाली भूमिमा निर्दोष नेपालीको ज्यान गएको हुँदा भारतले उपलब्ध नगराए पनि पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित भरतपोषण गर्नु नेपाल सरकारको पनि दायित्व भएको बताउँछन् । उनले भने, ‘जोबाट भए पनि यो गम्भीर मानव अधिकार हनन्को घटना हो । यसैले साहको परिवारलाई राज्यबाट क्षतिपूर्ति पाउने हक छ ।’
सुनसरी क्षेत्रको नेपाल–भारत सीमामा अहिले एसएसबीले कडाइ गरेको छ । सुनसरीको भण्टाबारीबाहेक अन्य नाकाहरूबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाइएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली युवक गौतमको हत्याको सर्वत्र विरोध हुन थालेपछि एसएसबीले नेपालीलाई भारत प्रवेशमा रोक लगाएको हो । एसएसबीले ‘माथिको आदेश’ भन्दै नेपालीहरूलाई भारत प्रवेशमा रोकेको हो ।