झापा । सुत्केरी हुनुअघिको प्रसव पीडा आमाबाहेक अरुले कल्पनासम्म गर्न सक्दैन । प्रसव व्यथाले च्यापिरहँदाको पीडा त छँदैछ, अझ त्यतिबेलै श्रीमान भनाउँदोले समेत साथ छाडिदिँदा ती सुत्केरीलाई कस्तो होला ?

सुन्दा पनि आङै सिरिङ्ग हुने यो भवितव्य झापा विर्ताबजारमा डेरा गरी बस्ने दीपा दासमाथि आइपरेको छ । उनका लागि छोरी जन्माउनु अभिशाप सावित भएको छ । यसअघि पनि दीपाले दुई छोरीलाई जन्म दिइसकेकी छिन् । एउटी छोरी ९ वर्षकी छिन् । अर्की ६ वर्षकी ।

छोरी जन्मिएपछि श्रीमान सम्पर्कविहीन

‘छोरी जन्मिए तिमीलाई भेट्न आउँदिन भनेर केही हप्ताअघि भन्नुभएको थियोे’, दीपाले आइतबार अस्पतालको बेडबाट  भनिन्, ‘छोरी भएपछि अहिलेसम्म भेट भएको छैन ।’ छोरी जन्मिएको थाहा पाएपछि दीपाका श्रीमान् चन्दन दास अहिले सम्पर्कविहीन छन् । बिर्तामोडको बीएण्डसी हस्पिटलमा तेस्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी दीपा अहिले बेडमै परेकी छिन् ।

‘छोरी जन्मेपछि तीन दिनअघि फोनमा कुरा भयो’, उनले सुनाइन्, ‘अहिलेसम्म हेर्न भने आएका छैनन् ।’ अहिले उनका श्रीमान चन्दनको मोबाइलसमेत स्वीच्ड अफ छ ।

श्रीमान् आउने झिनो आशा

दीपा  श्रीमान चाँडैै भेट्न आउनेमा आशावादी छिन् । ‘आउनुहुन्छ होला’, उनले झिनो आशा व्यक्त गर्दै भनिन्, ‘कतै केही काममा पर्नुभयो कि !’ श्रीमान कुनै परिबन्दमा परेको हुन सक्ने भन्दै उनले आफ्नो मनलाई सन्तुष्टि दिलाइन् । बच्चा जन्मिएको सात दिन बितिसक्यो, तर परिवारलेसमेत कुनै चासो नदेखाउँदा अहिले उनी छिमेकी महिलाको भरमा अस्पतालमा बसिरहेकी छिन् । छिमेकीले नै उनको हेरचाह गरिरहेका छन् ।

अस्पताल भन्छ- ‘प्रशासनलाई जिम्मा लगाउँछौं’

‘एक हप्ताभन्दा धेरै भइसक्यो, अहिलेसम्म परिवारबाट कोही आएका छैनन्’, अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले  भने, ‘अब एक/दुई दिन पर्खिन्छौं, भएन भने प्रहरीको सहयोगमा प्रशासनलाई जिम्मा लगाउँछौं ।’ बच्चाको नामाकरण गर्ने दिन पनि गुज्रिसक्यो । कोही लिन नआउँदा आमा र बच्चा दुबै हस्पिटलकै बेडमा सीमित छन् । दीपाले सबैलाई सहयोग गरेर आफूलाई घर पुर्‍याइदिने व्यवस्था मिलाइदिन अस्पतालको बेडबाटै आग्रह गरिन् ।

-अनलाइनखबरबाट