स्पानिस ला लिगा अन्तर्गत बिहीबार भएको खेलमा सेभियाले एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गर्दै दोस्रो स्थानको रियल मड्रिडसँग अंक दुरी १ मा झारेको छ। घरेलु मैदानमा भएको खेलमा सेभियालाई जित दिलाउन १४ औं मिनेटमा भिसेन्ट आइबोराले गरेको गोल नै निर्णायक बन्यो। जितपछि २५ खेलबाट सेभियाको ५५ अंक भएको छ भने एक खेल कम खेलेको रियलको ५६ अंक छ।  २५ खेलबाट ५७ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ। यता एन्टोनी ग्रिजमनको गोलमा डेपोर्टिमा ला कुरानासँग बराबरी खेल्दै अंक खोस्न सफल एथ्लेटिको मड्रिडलाई भने झड्का लागेको छ। खेलको १३ औं मिनेटमा एन्डवनले गोल गर्दै ला कुरानालाई अग्रता दिलाएका थिए। तर ६८ औं मिनेटमा ग्रिजमनले बराबरी गोल फर्काए। ८५ औं मिनेटमा ला कुरानाका एलेक्ससँग ठोक्किदा उनी मैदानमै ढलेका थिए। टोरेसलाई त्यसपछि तुरुन्तै हस्पिटल पुर्‌याइएको थियो। ३२ वर्षे स्पानिस अन्तर्राष्ट्रिय खेलाडी टोरेसले उक्त घटना एकदमै आतंकित भएको र चाँडै नै निको भएर फर्कने विश्वास गरेका छन्।