कञ्चनपुर / कञ्चनपुर बेदकोट नगरपालिका ९– हजाराका ७० बर्षिय भानचन्द्र भट्टका चार छोरा थिए । चार छोरा मध्ये जेठो छोरा गणेश भट्ट २२ बर्षको उमेरमा रोजगारीका लागि वि।सं २०५० सालतिर भारतको दिल्ली गए ।

दुई दशक भन्दा बढि समय वितिसक्दा पनि गणेश न घर फर्के, न सम्पर्कमा आए । उनी आजसम्म पनि घर परिवारको सम्र्पकमा आएका छैनन् । भट्टकै माइला छोरा धर्म पनि २० बर्षको उमेरमा वि।सं २०६४ सालमा रोजगारीका लागि भन्दै भारतको दिल्ली गए ।

उनी पनि आफ्ना जेठा दाई जस्तै न सम्पर्कमा आए न घर आए । भानचन्द्रका माइला छोरा पनि सम्पर्क बिहिन भएको झण्डै दशक वित्न लाग्यो । रोजगारीका लागि भारत गएका दुई दुई छोरा गुमाउनु पर्दा उनको परिवार चिन्ताले पिरोल्लिएको छ । कमाउन गएको छोराको आशामा बसेका भट्टको परिवारको अवस्था कहालिलाग्दो छ ।

गणेशका दुई छोरी र एक छोरा छन्, भने धर्मकी एक छोरी । विवाहित दुवै जनाले भारतमा गएर केही रकम कमाउने सोच बनाए पनि उनको परिवारको सपना तुहिएको छ ।

भट्टको जस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरकी ६० बर्षिय जमुना देवि दमाईको छोरा सुनिल दमाई पनि भारतको दिल्ली रोजगारीमा गएको झण्डै एक दशक पुग्यो । सुनिल आजसम्म घर परिवारको सम्र्पकमा छैन् ।

जमुनाको बुढेशकालको साहरा सुनिल यतीबेला वेपत्ता भएपछि उनको दैनिकी बेहाल भएको छ । जमुना दमाई र भानदेव भट्टको जस्तै सुदूरपश्चिमका तीन जिल्लाका एक सय ६५ जना अभिभावकको पीडा उस्तै छ ।

निड्स नेपाल कञ्चनपुरले कामका लागि भारत गएर हराएका व्यक्तिहरुका परिवारसँग भेट गरी तथ्याङ्क संकलन गरेको छ । निड्स नेपाल कञ्चनपुरले सुरक्षित आप्रवासन तथा मानव बेचबिखन रोकथान परियोजना संचालन गरेर अछाम, डोटी र कञ्चनपुरका तीन जिल्लाका व्यक्तिहरुको तथ्याङ्क संकलन गरेको हो ।

सुदूरपश्चिमका तीन जिल्लाबाट यसरी एक सय ६५ जना मात्रै हराएको तथ्याङ्क बाहिर आएपनि ९ वटै जिल्लाबाट हजार भन्दा बढि मानिस हराएको अनुमान गरिएको छ । सरकारले समेत कामका लागि भारत जानेको रेकर्ड नराख्दा हराएका व्यक्तिको संख्या यकिन भएको छैन् ।

एक सय ५७ पुरुष र ८ महिला हराएका

निड्स नेपाल कञ्चनपुरले सुरक्षित आप्रवासन तथा मानव बेचबिखन रोकथान परियोजनाका प्रमुख प्रकासचन्द्र मडैले कञ्चनपुरको दुई नगरपालिका बेदकोट र भीमदत्त, अछामको साफेबगर र डोटीका १२ गाविसका भारत गएर लामो समयदेखि सम्पर्कमा नआएका व्यक्तिहरुका परिवारसँग प्रत्यक्ष अध्ययन गरेर प्रतिवेदन तयार पारिएको बताए । उनका अनुसार अछामका ३१, डोटीका १०६ र कञ्चनपुरका २८ जना कामदार अझैसम्म फेला परेका छैनन् ।

जसमध्ये एक सय ५७ पुरुष र ८ महिला हराएका हुन् । २०४९ भन्दा अघि २२, २०५० देखि २०६० भित्र ४४, २०६० देखि २०७० सम्म ६७ र २०७० यता ३२ जना भारत गएर सम्पर्क बिहिन भएका छन् । हराएका मध्ये ९८ जना बिवाहित छन्, भने ५५ जना अबिबाहित र ९ जनाको विवाहको अवस्था बारे खुल्न सकेको छैन् ।

प्रतिवेदनमा सबैभन्दा बढि मुम्बइबाट हराएका छन् । मुम्बइबाट ३०, दिल्लीबाट १८, गुजरात, पुना र पञ्जावबाट ५÷५, देहरादुनबाट ३, मद्रासबाट ४, मधुरा ६, बरेली ४ र अन्य विभिन्न शहरबाट हराएका छन् । घरको कमाउने मुली हराउँदा उनीहरुको अवस्था दयनिय बन्दै गएको समेत मडैले बताए ।

अभिभावकले प्रहरीमा उजुरी दिएनन्

भारतीय रोजगारीमा गएर हराएका कुनै पनि व्यक्तिका आफन्तले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन दिएका छैनन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नैन सिह कार्कीले कामका लागि भारत गएका व्यक्ति हराएपछि प्रहरीमा निवेदन नआएको बताए ।