काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब छिट्टै नै नेपालको पर्यटन क्षेत्रमा क्रान्ति आउने बताएका छन् । नेपाल पर्यटन व्यवसायी सङ्गठनको एकता भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले भने – “पर्यटन पूर्वाधारका संरचना निर्माण भइरहेकाले अब छिट्टै नै मुलुकको पर्यटन क्षेत्रमा आर्थिक क्रान्ति हुन्छ ।” प्रधानमन्त्री प्रचण्डले “छिट्टै नै नेपालको पर्यटन क्षेत्रमा क्रान्ति आउँदैछ भन्ने मैले देखेको छु, किनकी त्यो क्रान्तिका लागि आवश्यक पूर्वाधार धमाधम बनिरहेको चर्चागर्दै उत्तरतर्फ हिल्सा र कोरला नाका खुल्दैछन्, त्यसले तिब्बती पर्यटक बढ्नेछन् भने अर्कोतर्फ काठमाडौँ–केरुङ रेल्वे सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ, अन्य सडक निर्माण पनि तीव्रगतिमा अघि बढेको छ, यसले ठूलो परिस्थिति निर्माण गर्दैछ भने ।” उत्तर दक्षिण कोरिडोर धमाधम निर्माण भइरहेको र पूर्वपश्चिम रेल्वे निर्माणको काम पनि अघि बढ्ने प्रक्रियामा रहेकाले पर्यटकीय पूर्वाधार द्रुतगतिमा अघि बढेको उल्लेख गर्दै उनले प्राकृतिक, भौगोलिक, सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा अबको आठ÷दश वर्ष भित्रै पर्यटन थामिनसक्नु हुने बताए । प्रधानमन्त्री प्रचण्डले यो सम्भावनालाई मध्यनजर गरी सकारात्मक सोचका साथ एकताबद्ध ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिदैं राजनीतिक स्थिरता कायम गरी सकारात्मक सोचका साथ अघि बढ्नसके पर्यटन अनन्तकालसम्म जानसक्ने र यसले नेपाललाई संसारकै समृद्ध राष्ट्रका रुपमा स्थापित गर्न सक्ने विश्वास व्यक्त गरे । नेपालमा बृहत् रुपमा सम्पर्क सञ्जाल बढिरहेको र हवाईमार्ग, सडकमार्ग तथा रेलमार्ग सञ्चालन छिमेकी देश भारत र चीनलाई पनि आवश्यक भएकाले यसबाट मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने पनि उनले बताए ।