बनेपा/ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ११ बुडोलमा कागजबाट निर्मित कप उद्योग आजदेखि सञ्चालनमा आएको छ ।
व्यवसायी शान्तिरत्न शाक्य, वसन्तराज भोछिभया, साजन शाक्य, सुरेश भोछिभया र रोशन श्रेष्ठ लगायतको करिब रु सात करोडको लगानीमा सो उद्योग सञ्चालनमा आएको हो । ‘महाचण्डी शुभश्री इन्डष्ट्रिज’ कम्पनीबाट उत्पादन हुने कागज निर्मित कपका लागि आवश्यक कच्चा पदार्थ भारत र चीनबाट आयात गरिने कम्पनीका प्रबन्ध निर्देशक वसन्तराज भोछिभयाले जानकारी दिए ।
उद्योगमा रहेका दुईवटा मेसिनबाट दैनिक ३० हजारदेखि ५० हजारवटा कपको उत्पादन हुने गरेको छ । सुरुवातमा दैनिक रु १० हजार आम्दानी भएको उनको भनाइ छ । “अहिले कपको मात्रै उत्पादन सुरु गरेका छाैं, चाँडै पेपर प्लेट र नेपकिन समेत उत्पादन सुरु गर्छौँ,” भोछिभयाले भने । बजारमा प्लास्टिकको भाँडा विस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र यसको मुख्य बजार काठमाडौँ भएको उनले बताए ।