पर्सा/ सवारी ऐन उल्लङ्घन गर्नेलाई भएको कारबाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा रु एक करोड ३० लाख १७ हजार राजस्व सङ्कलन गरेको छ ।
आव २०७३-७४ को साउनदेखि पुससम्मको छ महिनाको अवधिमा कार्यालयले २० हजार ६ सय ५० सवारीसाधान सञ्चालकलाई गरेको कारवाहीमा सो रकम सङ्कलन भएको प्रमुख ट्राफिक प्रहरी निरीक्षक रवीन्द्रप्रसाद भट्टले जानकारी दिए ।
उनले चालु आवमा सबैभन्दा बढी ट्रकचालक कारवाहीको दायरमा आएको बताए । ट्रकचालकले वाहन चलाउँदा आवश्यक कागजपत्र नबोकेको, तोकिएको भन्दा बढी सवारी वा मालवस्तु राखिएकोे, तोकिएको भन्दा बढी गतिमा सवारीसाधन चलाएको जस्ता गल्ती भेटिएपछि ट्राफिक ऐनबमोजिम कारवाही गरिएको निरीक्षक भट्टले जानकारी दिए।
चालु आवको ६ महिनामा ऐन उल्लङ्घन गरेका ११ हजार आठ सय चार ट्रक, आठ सय बस, सात सय ३५ जिप-कार-भ्यान, एक हजार दुई सय ४६ ट्याक्टर, चार हजार सात सय ८८ मोटरसाइकल र एक हजार दुई सय ७७ टेम्पो चालकलाई पनि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
यसैबीच मादकपदार्थ सेवन गरी सवारीसाधान चलाउने आठ सय ३९ चालकलाई कारवाही गरिएको छ । चालु आवको ६ महिनामा जिल्लाका विभिन्न स्थानमा गरिएको छड्के जाँचमा मादकपदार्थ सेवन गरेका उक्त सङ्ख्याका सवारीचालक कारवाहीमा परेको निरीक्षक भट्टले बताए । मदिरा सेवन गरी वाहन चलाउने चालकलाई कारवाही गर्दा छ महिनामा रु आठ लाख ३९ हजार राजस्व सङ्कलन भएको थियो ।
-रासस