काँकडभिट्टा/सुशील कोइराला प्रधानमन्त्री रहेका बेला राजनीतिक पीडितको स्वास्थ्योपचारका लागि सरकारले सहयोगबापत् दिने निर्णय गरेको २ लाख रुपैयाँमध्ये जनआन्दोलनका एक घाइतेको आधा रकम गायब भएको छ । जनआन्दोलनमा घाइते भएका मेचीनगर–६ धुलाबारी बजारका ५६ वर्षीय दिलीप प्रधानले पाउनुपर्ने रकम गायब भएको हो ।
२०४६ सालको ऐतिहासिक पहिलो जनआन्दोलनमा चैत २४ गते काठमाडौँको बागबजारमा पञ्चायतविरुद्ध जुलुसमा सहभागी भएका बेला छातीमा गोली लागेर प्रधान घाइते भएका थिए । छातीमा गोलीको दाग बोकिरहेका उनले अहिले पनि घाउबाट पिप बगिरहने गरेको बताए । प्रधानलाई २०७२ सालमा कोइराला सरकारको मन्त्रिपरिषद्ले २ लाख रुपैयाँ उपचार सहयोग दिने निर्णय गरेको थियो ।त्यसमध्ये एक लाख रुपैयाँ झापा जिल्ला प्रशासन कार्यालयमार्पmत् गत वर्षको माघमा पाएका उनले बाँकी एक लाख कहाँ कसले गायब ग¥यो भन्ने पत्ता लगाउनै नसकेको बताए ।
‘प्रशासन कार्यालय र गृहमन्त्रालयमा धेरैपटक धाएँ’, प्रधान भन्छन्, ‘अनेक आलेटाले कुरा गरेर मलाई रकम दिएनन् ।’ २०७२ माघ ३ गते गृह मन्त्रालयले झापा जिल्ला प्रशासन कार्यालयलाई एक लाख रुपैयाँको चेकसहित सो रकम झापाका जनआन्दोलनका घाइते प्रधानलाई उपलब्ध गराई भपाई पठाउन निर्देशनसमेत दिएको थियो ।
च.नं.२२२७६३१ को सो पत्रमा पठाइएको एक लाखको चेक उपचार सहयोगबापत प्रधानले पाउने रकमको पेश्की रहेको प्रष्ट उल्लेख छ तर त्यसपछि हालसम्म बाँकी एक लाखको अत्तोपत्तो छैन । प्रधानले आफ्ना लागि सरकारले उपलब्ध गराएको बाँकी एक लाख रुपैयाँ खोजी गरिदिन स्थानीय राजनीतिक दलका नेता र सांसद्लाई गुहारिरहेको बताए ।