taearकाठमाडौं/स्वेदशमै उत्पादन गर्न सकिने अथाह सम्भावना रहँदारहँदै टायरका लागि मुलुकबाट वर्षेनि ठूलो रकम विदेसिने गरेको छ । सवारी साधनको वृद्धिसँगै मुलुकको टायरको बजार पनि बिस्तारित भइरहेको छ । स्वदेशमा सवारी साधन उत्पादन हुँदैन । त्यसका लागि आवश्यक पर्ने अन्य पार्टपुर्जा आयात गर्नुपर्ने बाध्यता पनि छँदैछ ।

नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा चार अर्ब १६ करोड ३४ लाख १९ हजार बराबरका टायर नेपाल भित्रिए । अघिल्लो आवमा २३ करोड २९ लाख ४३ हजारभन्दा बढीको टायर नेपाल आयात भएको थियो । नेपालमा सबैभन्दा बढी भारतीय टायर प्रयोग हुने गरेको छ । गत आर्थिक वर्षमा भारतबाट मात्रै तीन अर्ब ५७ करोड नौ लाख २८ हजार बराबरको टायर आयात भएको केन्द्रले जनाएको छ ।भारतपछि ब्राजिल, इजिप्ट, टर्की, थाइल्यान्ड, चीन र जापानमा निर्मित टायर भित्रन्छन् । नेपाली टायर बजारमा पनि भारतकै वर्चश्व छ । नेपालमा एमआरएफ (मद्रास टायर फ्याक्ट), गुड इयर टायर, एपोलो, जेके, सिटजस्ता भारती टायर नेपाल भित्रिने गरेका छन् । यसैगरी, जिसिबी टायर पनि नेपालमा रामै बिक्री हुन्छ ।मुलुकमा अधिकाङ्श भारतीय टायर प्रयोग हुने गरेको केन्द्रका निर्देशक सुयश खनालको भनाइ छ ।

उनका अनुसार अन्य मुलुकको तुलनामा सवारी साधनमा प्रयोग हुने सामग्री भारतकै हुने गरेकोे छ । नेपालमा गुड्ने सवारी साधनका लागि आवश्यक पर्ने टायर स्वदेशमै उत्पादन गर्ने उद्देश्यका साथ २०४१ जेठमा गोरखाको मजुवा देउरालीमा स्थापना भएको एकमात्र टायर उद्योग २०७२ फागुन मसान्तदेखि ठप्प छ । केही वर्षअघिसम्म जेनतेन चलेको यो उद्योगले आव २०७१÷७२ मा यो उद्योगले ५६ सय ७० टायर उत्पादन गरेको थियो, जुन उत्पादन क्षमताको पाँच प्रतिशत मात्र हो । चालू पूँजीको अभाव, न्यून उत्पादन क्षमताको उपयोग, पुराना मेसिन, दक्ष जनशक्तिको अभाव, न्यून बजार हिस्सा, चोरी तथा न्यून मूल्याङ्कन, चर्को ब्याज तथा व्ययभार र सरकारी संरक्षणको अभाव जस्ता कारण यो उद्योग बन्द भएको सरकारको निष्कर्ष छ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले सरकारको ठूलो लगानी रहेको गोरखकाली रबर उद्योग सञ्चालन गर्ने प्रण गर्दै त्यसलाई अभियानका रूपमा अगाडि बढाएका छन् । सरकारको शेयर तथा ऋण लगानी रहेको यस उद्योग सञ्चालनका लागि सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडल अपनाउन लागिएको छ । मन्त्री जोशीले मन्त्रालय सम्हालेसँगै यस अभियान तीब्र गतिमा अगाडि बढेको र उद्योग मन्त्रालयको निजीकरण इकाइमार्पmत् अर्थ मन्त्रालयमा लेखी पठाइएको उपसचिव दुर्गाप्रसाद पराजुलीले जानकारी दिए ।टायर व्यापारमा समस्या छैनव्यापारिक सिलसिलामा कानुनी तथा व्यावहारिक रूपमा थुप्रै गुनासा आउने गरेको भएपनि टायर व्यापारमा खासै समस्या नभएको व्यापारीको भनाइ छ । उनीहरूका अनुसार भारत तथा तेस्रो मुलुकबाट टायर आयात गर्न सहज छ । सरकारले तोकेको राजश्व मापदण्डअनुसार व्यापार गर्न खास समस्या नभएको विन्देश्वरी टायर एन्ड ट्रेड, ढुङ्गेधाराका सञ्चालक यज्ञेश्वर पोखरेलको अनुभव छ । उनले भने, ‘ब्यापारमा नीतिगत समस्या छैन ।’ पोखरेलले विगत १६ वर्षदेखि बस, ट्रक, मिनीबस एवम् मोटरसाइकल तथा साइकलको टायर बिक्री गर्दैै आएका छन् । आन्तरिक रूपमै उत्पादन गर्न सकिए त्यसले राज्यको अर्बौं रकम विदेसिनबाट जोगिने उनको धारणा छ । यस्तै धारणा राख्छन्, आइएमई ग्रुपका व्यापार प्रवन्धक सागरमान श्रेष्ठ । श्रेष्ठले पनि विगत लामो समयदेखि विभिन्न किसिमका अटोमोबिल्स एवम् टायरको व्यापार गर्दै आएका छन् ।प्रणाम इन्टरनेशनलका सञ्चालक केदार रिजालले भने, ‘टायरको गुणस्तर कायम नहुँदा बजारमा केही समस्या छ ।’ उनका अनुसार खरिद ऐनले टायरको गुणस्तर नतोकिँदा कमशल टायरले गुणस्तरीय टायरलाई उछिनिरहेको छ । रिजालले विगत १० वर्षदेखि ब्राजिल, टर्की र इजिप्टबाट टायर आयात गरेर नेपाली बजारमा बिक्री गर्दै आएका छन् । ट्रक, जीप एवम् डोजरजस्ता ठूला मेसिनमा लाग्ने टायरको व्यापारमा उनी संलग्न छन् । वर्षेनी एक खर्ब ३३ अर्बको सवारी साधन केन्द्रका अनुसार आव २०७२÷७३ मा एक खर्ब ३३ अर्ब २६ करोड ११ लाख १५ हजार रुपैयाँबराबर मूल्यका सवारी साधन भित्रिएका छन् । टायरको व्यापार बढ्नुको कारण सवारी साधनको प्रयोगमा आएको वृद्धि नै हो ।यसमध्ये ६६ अर्ब ६३ करोड पाँच लाख ५७ हजार बराबरको मालवाहक सवारी साधन, २५ अर्ब ६५ करोड ९९ लाख ५९ हजार बराबारको मोटर, बस र ट्रक, १५ अर्ब ३७ करोड ६५ लाख ४९ हजारको मोटरसाइकल र २५ अर्ब ५९ करोड ४० लाख ५० हजार बराबरको अन्य सवारी साधन आयात भएका छन् । यो तथ्याङ्क अघिल्लो आवको तुलनामा क्रमशः ३४ दशमलव ९, ४० दशमलव ६, ३४ दशमलव ५ र २९ दशमलव ९ प्रतिशतले बढी हो । गत आवमा भारतबाट मात्रै २१ अर्ब ७६ करोड ९७ लाख ९५ हजार बराबरका एक लाख ८६ हजार ३५२ मोटर कार, बस एवम् ट्रक भित्रिएका थिए । जापानबाट एक अर्ब ६७ करोड १६ लाख १४ हजार बराबरका ७ सय ४२ सवारी साधन आयात भएका छन् । यसैगरी, सोही आवमा १५ अर्ब ३७ करोड ६५ लाख ४९ हजार बराबरको तीन लाख ८७ हजार ८ सय ३० वटा मोटरसाइकल आयात भएका छन् । त्यसमा भारतीय उत्पादनको हिस्सा ९५ प्रतिशत जति छ । अघिल्लो आवमा भारतबाट मात्रै १५ अर्ब ६ करोड १४ लाख ५६ हजार मूल्य बराबरका तीन लाख ८४ हजार १८४ मोटरसाइकल आयात भएको प्रवद्र्धन केन्द्रको तथ्याङ्कले देखाउँछ । सवारी साधनको आयात बढेसँगै टायरको व्यापार पनि विस्तार भएको केन्द्रका निर्देशक खनाल बताउँछन् । सडकमा सास्ती लाखौंको सङ्ख्याका सवारी साधन धान्न सक्ने सडक बिस्तार नहुँदा भने यात्रु तथा सवारी चालक मर्कामा पर्दै आएका छन् । भएका सडकको पनि राम्रोसँग स्तरोन्नति हुन नसक्दा दुर्घटनाको जोखिम बढेको छ । विगत १० वर्षदेखि मिनीबस चलाउँदै आएका श्रीकृष्ण पौडेलका अनुसार चक्रपथभित्रका सडक पनि ‘भेहिकल फ्रेन्डली’ छैन । उनी भन्छन्, ‘कतिखेर टायर पञ्चर हुने हो पत्तै हुँदैन । टायर बिक्रेताले पनि कमसल टायर भिœयाउने गरेकाले हामी प्रयोगकर्ता मर्कामा पर्ने गरेका छौं ।’