dashain दशैँ नेपालका अधिकांश जनताले मनाउँछन् । कतिले उत्साहसँगै मनाउँदै होलान्, कतिले दुःखले भरिएको आफ्नो जीवनमा जहाँ साँझ–बिहानको जोहोको लागि पनि हरेक पसिनासँग कुस्ती खेल्न परिराखेका लागि पनि यो दशैँले बाटो तताएको हुन्छ । जस्तोसुकै होस् चाहे त्यो गरीब वा धनी होस्, सबैको मनले स्वीकारेको छ यो दशँैलाई । ऋतुहरुको राजा वसन्तपछिको राम्रो समय शरद् ऋतुको वातावरण मनोरम छ । धानका बाला जताततै झुल्दैछन् । घर–घरमा भएका बुटीहरु मौलाएका छन् । एउटा छुट्टै उमङ्ग छाएको छ सबैमा । कामका लागि शहर पसेका गाउँ फर्कदैछन् । वर्षभरि जिन्दगीलाइ सफल बनाउन जुटेका ती मनहरु मनमा नयाँ जोश र जाँगरका साथ दशैँ मनाउने ठूलो उमङ्गसँगै गाउँको त्यो सुमधुर यादलाई फेरि ताजा बनाउँदै घरपरिवार आफन्तहरुसँग भेट हुने आशाले आएको दशैँलाई अङ्गालिरहेका छन् । कतिका घरमा दशैँमा खसी ढाल्ने तयारी हँुदै छ । साना–साना नानीहरु आफ्ना बाबाआमालाई यो दशैँमा नयाँ नाना र चाचाको लागि रोइ–कराइराखेका छन् । कस्तो मीठो हुन्छ त्यो बालापन, जतिखेर चाचा र नानाको लागि धक मारेर रोइन्छ । त्यो रुवाइलाई सहन नसकेर आमाले काखमा राखेर ‘बाबु, नरोऊ ल । मेरो कान्छुलाई नयाँ चाचा किन्दिन्छु नि । कसले भन्यो किन्दिन्नँ भनेर’ आमाका यति शब्द सुनिसकेपछि टाउको माथि गरेर आमालाइ हेर्दै हिः हिः हिः गर्दाको त्यो क्षणको उमङ्ग शायद भोग्नेलाई मात्र थाहा होला । कति न्यानो अङ्गालो हुन्छ आमाको † कति माया भरिएको हुन्छ त्यो ममतामा † घटस्थापनाको दिन दशैँघरमा जमरा र दुर्गामाताको आह्वाहन गरी गहुँ र जौलाई त्यही सूर्यको किरण नपर्ने ठाउँमा केरा अथवा टपरीमा माटो राखेर छरिसकेपछि विधिवत् रुपमा भित्रिन्छ हिन्दूहरुको दशैँ । चलनअनुसार प्रत्येक दिन दुर्गा पाठ हुन्छ । दक्षिणतिरका मधेशी हिन्दूले यी नौ दिनलाई नवरात्रको रुपमा आफ्नै रीतिअनुसार चोक अथवा दुर्गाको मन्दिरमा ठूलो मूर्ति स्थापना गरी नौ दिनसम्म विधिवत् पूजा–आराधना गरी मनाउने गर्दछन् र नवरात्रको अन्तिम दिन आह्वान गरेर राखेको दुर्गाको मूर्तिलाई विसर्जन गरेर मनाउने गर्दछन् । कतिपयका घरमा लोर्के खसीसँगै दशैँको शुभकामना साट्ने तयारी पनि भइरहेको छ होला । हामी मांसाहारी धेरै छौँ । दशैँमा मासु खानुपर्छ भन्ने मान्यता राख्ने र अबोध निरीह जनावरको आत्मामाथि प्रहार गरेर दशैँ मनाउने गर्छौं । दशैँ मनाउनको लागि हामीले मासु नै खानुपर्छ भनेर त शास्त्रमा लेखिएको छैन । हामी आफ्नो आवश्यकताअनुरुप समाजको रीतिलाई ढाल्ने प्रयास गर्छौं । कति सही पनि हुन्छ, कति गलत ? हामीलाई थाहा हुँदैन । दशैँ हाम्रो संस्कार र आफ्नै महत्व बोकेको संस्कृति पनि हो । दशैँ नेपाली हिन्दूहरुको सबैभन्दा ठूलो पर्व हो । नेपाली हिन्दू पात्रोअनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दशैँ वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ । हिन्दू चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथिअनुसार पर्ने भएकाले नेपाली चाडहरु निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैँ पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेन्डरअनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्यमा पर्छ । दशैँ आश्विन शुक्ल प्रतिपदामा शुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भए पनि पहिलो ९ दिनलाई नवरात्रि र दशौँ दिनलाई दशमी वा दशैँ भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई बध गरेर मानव जातिको कल्याण गरेको किंवदन्ती छ । प्रतिपदा       (घटस्थापना), सप्तमी         (पूmलपाती), महाअष्टमी, (कालरात्रि), महानवमी, विजया दशमी र पूर्णिमा (कोजाग्रत) दशैँका प्रमुख तिथिहरु हुन् । नवरात्रिको अन्तिम दिन घटस्थापनाको दिन आह्वान गरेर पूजा गरिएको मूर्तिलाई विसर्जन गरी दशमीका दिन पूजा–आराधना गरेर टीकाको सही साइतमा घरका सम्पूर्ण सदस्य जम्मा भई मर्यादाक्रमसँगै जमरासहित रातो टीका ग्रहण गर्ने र गराउने प्रक्रिया शुरु हुन्छ । दहीमा चामल र रातो अबिरले रङ्गाएको टीका र घामले नभेट्टाएको ठाउँमा उमारेको ९ दिन सम्मको गहुँ र जौको उम्रँदै गरेको जमरा आफ्ना मान्यजनले प्रदान गरिदिँदै आशीर्वाद दिँदा पक्कै दशैँ आएको भान हुन्छ । टीकापश्चात् घरमा बनेका मीठामीठा परिकार खाने र त्यसपछि सबै आ–आफ्ना आफन्तजनकहाँ जाने प्रक्रिया शुरु हुन्छ । त्यो दिन जताततै मेला लाएको भान हुन्छ । सबैका निधारमा रातो टीका, कानमा पहँेलो जमरा । शायद यस्तो चलन कतै छैन यो संसारमा । सबै आ–आफ्नो गन्तव्यमा जाने तर्खरBijaya-Dashami-Dashain-imagesमा देखिन्छन् । टीका लगाइसकेपछि जताततै रमाइलो वातावरण देखिन्छ । मनोरञ्जनको लागि चोकचोकमा ठाउँअनुसारका पिङ लगाइएको हुन्छ । धेरै केटाकेटी पिङ खेल्नका लागि लाइन लागेका हुन्छन् । पिङमा हुच्ँिचदै चचहुइ चचहुइ गर्दै रमाएको छ । तल बसेर हेर्नेले त्यो आनन्द अब चाँडै पालो आएपछि लिन पाइन्छ भनेर खुसीसाथ कतिखेर पालो आउँछ भन्दै कुरेर बसिरहेका छन् । धेरै दिनमा एकै ठाउँमा भेट भएका एकआपसमा वर्षभरिका आफ्ना अनुभव सुनाइरहेका छन्– दुःख, सुखका तिता र मिठा । वर्षभरि शून्य भएको गाउँघर यो एक महिना निकै रमाइलो लाग्छ । शहरभन्दा कति फरक र अर्कै स्वादले । छुट्टै पहिचान र आफ्नै महत्वका साथ भित्रिएको हाम्रो साझा पर्व सौहाद्र्रपूर्ण वातावरणमा मनाउनु हाम्रो कर्तव्य हुन आउँछ । अरुको देखासिखी गर्नुभन्दा आफ्नो गच्छेअनुसार जे छ, त्यसैमा खुसी भएर एकआपसमा माया र सद्भाव बाँड्दै भित्रिएको दशैँ मनाउने हो भने दशैँको महत्व पनि राम्रोसँग झल्किन्छ ।