धरान / दशैंको अवसरमा पूर्वको पर्यटकीयस्थल भेडेटारमा चंगाचेट उत्सव हुने भएको छ । पूर्वमा पहिलो पटक भेडेटार होटल एसोसिएसनले सुरु गरेको चंगाचेट उत्सवको यसपटक असोज २१ र २२ गते दोस्रो संस्करण हुन लागेको हो । उत्सवको पहिलो दिन साईक्लिङ, चंगाचेटसहित नृत्य र गायनको कार्यक्रम हुने आयोजक होटल एसोसिएसनका अध्यक्ष लीलाराज लावतीले बताए । साईक्लिङको संयोजन राईडर्स एण्ड एमटिबी जोनले गर्ने छ । त्यस्तै वाईवाईको प्रस्तुतिमा हुने टुवोर्ग चंगाचेट प्रतियोगीताका विजेतालाई सिक्किम,पोखरा र भेडेटारको टुर प्याकेजसहित चेसुङ वाईनको दशैं उपहार प्रदान गरिने आयोजकले जनाएको छ । चंगाचेट प्रतियोगीतामा भाग लिनेका लागि २ हजार ५ सय र १ हजार दर्ता शुल्क तोकिएको छ । २ हजार ५ सय तिरेर भाग लिनेलाई दुई जनाको लागी भेडेटारमा आयोजकले नै आवास तथा खानाको व्यवस्था गर्ने आयोजकले जनाएको छ ।
उत्सवमा मगर जातीको मौलिक हुर्रा नृत्य, गरिमा डान्स सेन्टरका नृत्यहरु र राष्ट्रिय तथा स्थानीय गायकहरुको गायन प्रस्तुति रहने एसोसिएसनका सचिव जीतेन्द्र रुम्दाली राईले जानकारंी दिए । उनले भने ‘पहिलो पटकको चंगाचेट पर्यटकहरुले पनि मन पराएपछि दोस्रो पटक गर्न लागिएको हो । यसले पर्यटन विकासमा सहयोग पुग्छ ।’
सरकारको घुमफिर वर्ष बनाउने योजनालाई समेत सहयोग पुग्ने गरी दशैंको मौकामा पर्यटकलाई आकर्षण गर्न यस्तो उत्सव आयोजना गर्न लागिएको हो ।