चन्द्रौटा (कपिलवस्तु)/सरकारले दिने दुई करोड ५० लाख अनुदान रकम कपिलवस्तुका उखु किसानले नपाएको गुनासो गरेका छन् ।

गत वर्ष कपिलवस्तुको जवभारीमा रहेको महालक्ष्मी सुगर्स प्रालि र किसानबीच विवाद हुँदा सरकारले किसानलाई दुई करोड ५० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो ।
नेपाल सरकारले तोकेबमोजिम रकम मिलले नदिएपछि किसान र मिल सञ्चालकबीच विवाद भएको हुँदा सरकारले रकम दिने अश्वासन दिएको थियो । सरकारले प्रतिक्विन्टल उखुको मूल्य रु ४६१ दिने घोषणा गरेपनि कपिलवस्तुमा मिल सञ्चालकले प्रतिक्विन्टल रु ४३६ मात्र दिएका थिए ।
बाँकी रु २५ रुपैयाँ सरकारले दिने सम्भैता भएको थियो । किसानलाई एक वर्ष बित्दा समेत सरकारले रकम दिन आनाकानी गरिरहेको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताए ।
कपिवलस्तुका पाँच हजार किसानले अनुदान रकम नपाएको बताएका छन् । पटकपटक सरकार र मिल सञ्चालकलाई अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको किसानले बताएका छन् ।
कृषि मन्त्रालयमा धाउँदासमेत कहिले अर्थ मन्त्रालयबाट रकम निकासा नभएको त कहिले मिल मालिकले कागजपत्र नपठाएको भन्दै दुःख दिने काम गरेको शिवराज नगरपालिका मोतिनगरका रामकिशोर चौधरीले बताए ।
अन्य जिल्लाका किसानले रकम बुझिसके हामीले कहिले रकम पाउने भन्दै कपिलवस्तु बहादुरगन्जका रामेश ठाकुरले अक्रोश व्यक्त गरे । कपिलवस्तुका किसानको सयदेखि पाँच हजार क्विन्टलसम्मको रकम नपाएको बताएका छन् ।
महालक्ष्मी सुगर्स प्रालि जवभारीका उखु प्रबन्धक हरिनारायण चौधरीले मिलमा छिमेकी मुलुक भारतको पनि उखु आउने भएकाले समय अभावले गर्दा तत्काल काम गर्न कठिनाइ भएको बताए । कागजपत्र ढिलो पठाइएको स्वीकार गर्दै अब चाँडै नै मन्त्रालयबाट रकम निकासाका लागि पहल गर्ने उखु प्रबन्धक चौधरीले बताए ।
-रासस