vedetarधरान / पूर्वको चर्चित पर्यटकीय गन्तव्य भेडेटारको पर्यटन सद्भावनादूतमा मिस पूर्वाञ्चल २०१६ विजेता कृतिका गिरी नियुक्त भएकी छिन् । भेडेटार होटल एसोसिएसनले गिरीलाई एक कार्यक्रम आयोजना गरी सद्भावनादूत घोषणा गरेको हो । होटल भेडेटार भ्यूमा आयोजित कार्यक्रममा एसोसिएसनका अध्यक्ष लीलाराज लावती, सचिव जीतेन्द्र रुम्दाली राई लगायतले उनलाई एक वर्षका लागि पर्यटन सद्भावनादूतको नियुक्तिपत्र प्रदान गरे । भेडेटारको नयाँ पर्यटन सद्भावनादूत नियुक्त भएपछि गिरीले भेडेटारको पर्यटन विकासमा आफुले सक्दो सहयोग गर्ने बताईन् । भनिन् ‘मैले बोल्ने मञ्च वा सामाजिक सञ्चाल मार्फत भेडेटारको पर्यटन प्रवद्र्धनको काम गर्नेछु ।’ कार्यक्रममा मिस पूर्वाञ्चल २०१५ प्रियंका श्रेष्ठलाई एसोसिएसनले पर्यटन सद्भावनादूतबाट विदाई गरेको छ । अध्यक्ष लावतीले उनलाई धन्यवाद पत्र प्रदान गरे । विदाईका अवसरमा बोल्दै श्रेष्ठले आफु सद्भावनादूतबाट विदाई भए पनि पहिला जस्तै भेडेटारको पर्यटन प्रवद्र्धनमा लाग्ने बताईन् । एसोसिएसनले तीन वर्षदेखि मिस पूर्वाञ्चलका विजेतालाई पर्यटन सद्भावनादूत नियुक्त गर्ने गरेको छ । मिस पूर्वाञ्चलका विजेताले सामाजिक सञ्जाल तथा विभिन्न मञ्चका कार्यक्रममा भेडेटारको प्रवद्र्धन गरे पछि यहाँको पर्यटन विकासका थप टेवा पुगेको एसोसिएसनका अध्यक्ष लावतीले बताए । उनले भने ‘उहाँहरुले एकपटक बोलिदिंदा पनि धेरैको ध्यान आकर्षण हुन्छ ।’ कार्यक्रममा मिस पूर्वाञ्चलको आयोजक सिल्भर इन्टरटेन्मेन्टका अध्यक्ष दिपक बनेपाली, निर्देशक सौरभ श्रेष्ठ, व्यवस्थापक छत्र लिम्बु, मिस पूर्वाञ्चल फस्टरनरअप ममता कार्की, सेकेन्डरनरअप इक्सा मादेनलगायतको उपस्थिति थियो ।