इलाम/नेपाल संगीत तथा नाट्य प्रज्ञा परिषदका सदसय सचिव समेत तथा साहित्यकार गणेश रसिकको अग्रसरतामा इलामको सूयोदय नगरपालिका फिक्कलमा माउण्टेन अर्गानिक चिया कारखाना सञ्चालनमा आएको छ ।सो उद्योगमा पूर्ण र शुद्ध अर्गानिक ग्रिन–टी उत्पादन गरिने उनले जानकारी दिए ।

tea

सो उद्योगमा दैनिक २५० किलो बराबर हरियोपत्ति प्रोधन गरिने र उत्पादित चिया नेपालकै बिभिन्न बजारहरुसँगै बिश्वका बिभिन्न देशमा पनि पठाउने लक्ष्य रहेको कारखाना अर्का सञ्चालक जय राईले जानकारी दिए । इलामकै फिक्कलमा रेडियो फिक्कल समेत सञ्चालन गरिरहेका रसिक इलाम आफ्नो कर्मभूमि रहेको र आफ्ना सिर्जनासँग इलाम जोडिने भएकाले यहिं केहि गरौं भनेर कारखाना सञ्चालन गरेको बताउँछन् । सूर्योदय नगरपालिका–८ रम्फोकमा रहेको रसिकको निजी जग्गामा सञ्चालित सो चिया कारखाना करीब २५ लाखको लागतमा सञ्चालनमा आएको बताइएको छ । कारखानामा रसिक बाहेक सञ्चारकर्मी जय राई र झापाका जीवन गौतम आबद्ध छन् । किसानलाई हरियोपत्तिको उचित मूल्य दिने र गुणस्तरीय चिया उत्पादन गर्ने आफूहरुको योजना रहेको रसिकले बताए । उनले भने–‘बरु परिणाम कम नै होस् तर गुणस्तर कुनै सम्झौता हुँदैन ।’

बुधबार एक कार्यक्रमबीच कारखाना उद्घाटन गरिएको छ । केहि दिनमा ब्यवस्थापन पक्ष मिलाएर कारखानाले पूर्ण क्षमतामा उत्पादन थाल्ने रसिक बताउँछन् । उत्पादनसँग आफूहरु उत्पादित चियाको बजार खोजीमा समेत रहेको जय राईले बताए । चिया तथा कफी बिकास बोर्ड र शुभेच्छुकको साथ–सहयोगको कारखानालाई खाँचो रहने बताउँदै रसिकले इलामका व्यावसायिक चिया किसानको सहयोगकै लागि कारखाना खुलेको बताए ।