-
Home
-
अर्थ
-
सरकारी बक्यौता धेरै, लाइन काट्न समस्या
सरकारी बक्यौता धेरै, लाइन काट्न समस्या
धरान/साना सेवाग्राहीलाई विद्युत लाइन काट्न थालेको नेपाल विद्युत प्राधिकरण धरान शाखाले सरकारी कार्यालयहरुमा करोडौं बक्यौता भए पनि लाइन काट्न असमर्थ देखिएको छ ।
धरान उपमहानगर र बहरक्षेत्र गाविसमाका सरकारी कार्यालयहरुमा मात्रै करिव ५ करोड भन्दा बढी बक्यौताहरु रहेको शाखा कार्यालय नै बताउँछ । धरान उपमहानगरमा सडक बत्तीको मात्रै करिव ४ करोड भन्दा माथि बक्यौता छ । त्यस्तै सुनसरी–मोरङ सिचाई आयोजनाको करिव एक करोड २० लाख रुपैया जति बक्यौता रहेको छ । तर, पनि शाखा कार्यालयले यि कार्यालयहरुको विद्युत लाइन काट्ने हिम्मत राखेको छ न त कालो सूचीमा नै राखेको छ । तर, व्यक्तिगत सेवाग्राहीको भने दैनिक १० देखि १२ वटा लाइन काटिरहेको शाखा कार्यालयका प्रमुख खिलानाथ अर्यालले बताए ।
‘सरकारी कार्यालयहरुमा केही समस्या भइरहेको छ ।’ उनी भन्छन् । अहिलेको सरकारका उर्जामन्त्री जनार्दन शर्माले देशभरी नै बक्यौता नतिरेका संघ संगठन र व्यक्तिहरुको लाइन काट्न दिर्नेशन दिएका थिए । तर, सरकारी कार्यालयहरुमा भने जस अन्तर्गत प्राधिकरणको केन्द्रीय कार्यालयबाट शाखाहरुलाई निर्देशन नै जारी भएको छ । तर, पनि सरकारी कार्यालयहरुको हकमा करोडौं बक्यौता हुँदासमेत लाइन काट्न सकेको छैन् । सुनसरी मोरङ सिचाई आयोजनाले करिव २०५६ सालदेखिको बक्यौता तिर्न बाँकी रहेको छ भने धरान उपमहानगरपालिकाको पनि उस्तै हालत छ । र, पनि ‘एक्सनमा’ जान सकेको छैन् ।
‘सडक बत्तीको त देशभरीको समस्या नै यही छ ।’ प्रमुख अर्यालले भने ‘देशभरीकै हिसाव गर्ने हो भने ३ अर्व भन्दा बढी सडक बत्तीको मात्रै पैसा होला ।’ यता सुनसरी मोरङ सिचाईको चतरा पावरहाउससमेत रहेकाले सरकारको स्वामित्वमा जाँदा १० प्रतिशत विद्युत दिने भन्ने सम्झौता भएकाले पनि बक्यौता नबुझाएको हुन सक्ने उनले बताए । अहिले हिसाव मिलानको लागि कागजत्रप हेर्ने काम भइरहेको उनले बताए । यस बारेमा बुझ्नको लागि आयोजनाका ल्याण्डलाइन फोनमा बारम्बार फोन गरे पनि फोन लागेन् ।
धरान उपमहानगरका कार्यकारी अधिकृत टीकादत्त राईले उनले यहाँको सडक बत्तिको मात्रै हैन, देशभरकै सडक बत्तिको अवस्था यस्तै रहेको बताए । उनले विद्युत प्राधिकरण र नगरपालिका बीच संयुक्त रुपमा तिर्नु पर्ने नीति नबनेसम्म यो समस्या हल नहुने बताए । ‘विद्युत प्राधिकरणले नपाको क्षेत्रमा पोल हालेर व्यापार गरेपछि नपालाई तिर्नु पर्दैन ?’ उनी भन्छन् ‘नपाले तिर्छ तर, नीति बन्नुपर्यो । त्यसमा नपाले कति तिर्ने र प्राधिकरणले कति बेर्होने भन्ने नीतिगत तय भएपछि मात्रै नपाले तिर्छ ।’
व्यक्तिगत तर्फ मोबाइल सेवाप्रदायक संस्था एनसेलको धरान–१७ को टावरको मात्रै करिव ५९ हजार रुपैया रहेको थियो । उक्त टावरको पनि विद्युत लाइन काटेलगत्तै बक्यौता उठेको शाखा कार्यालयले बताएको छ । धरान फिडरमा मात्रै ६ करोड बक्यौता रहेको छ । जसमा सबैभन्दा बढी सरकारी कार्यालयको रहेको छ । शाखाले बक्यौता रहेका सेवाग्राहीको लाइन काट्न ६ गतेबाट लाइन काट्न थालेको हो ।
दुईदिनमा ६ लाख रुपैयाजति बक्यौता नतिरेकाहरुको लाइन काटे लगत्तै साढे ४ लाख रुपैया बक्यौता उठिसकेको छ । हाल ३० हजार रुपैया भन्दा माथिका बक्यौता रहेकोहरु विद्युत लाइन काट्न थालिएको छ । धरान फिडर अन्तर्गत धरान उपमहानगरसँगै बराहक्षेत्र गाविस गरी शाखामा २६ हजार ५ सय ग्राहक संख्या रहेको छ ।