पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा विपन्न, जेहेन्दार र उकृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

कुम्मायक–४ को सिद्ध माध्यमिक विद्यालयले बालकक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरूलाई पुरस्कृत गरेको हो । विद्यालयमा स्थापित १० लाख अक्षयकोषको वार्षिक ब्याजदरबाट बालकक्षादेखि १० सम्मका उष्कृष्ट अङ्क ल्याएर प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः २१ सय, १६ सय र १२ सयका दरले छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ ।

त्यस्तै २२ जना विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएकोे छ । उनीहरूलाई १२ सयको दरले छात्रवृत्ति रकम वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्र सम्बाहाम्फेले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती, वडाध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फे, कार्यपालिका सदस्य र वडासदस्यलगायतले छात्रवृत्ति वितरण गरेका थिए । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विपन्न समुदायका बालबालिकालाई शिक्षामा पहुँच पु¥याउने उद्देश्यले परिवारको स्मृतिमा अक्षयकोष स्थापना गरेको अक्षयकोषदाता शेरबहादुर सम्बाहाम्फेले बताए ।

कुम्मायक–४ (साविक रानीगाउँ ६ भई) हाल ललितपुरवासी शेरबहादुर सम्बाहाम्फेले बाबु नरबहादुर र आमा धनमती सम्बाहाम्फेको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् । २०७७ सालमा स्थापना गरिएको १० लाखको अक्षयकोष यस विद्यालयको सबैभन्दा ठूलो कोष हो ।