धरान । भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू भएपछि पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेमा त्यस्तो महिला र पुरुषको स्वतः विवाह भएको मानिने उल्लेख गरिएको छ ।

तर यसमा दु्ई अवस्थामा भने स्वतः विवाह नमानिने पनि ऐनमा उल्लेख गरिएको छ । जबर्जस्ती करणीबाट बच्चा जन्मेकोमा र विवाह गर्न नहुने हाडनातामा करणीबाट शिशु जन्मेमा विवाह मानिदैन ।

हाडनाता विवाहमा आदिवासीप्रति लचिलो

नेपालमा कतिपय आदिवासी जनजाति समुदायमा हाडनाताभित्रै विवाह गर्ने प्रचलन रहेको छ । तर, हालसम्म प्रचलनमा रहेको मुलुकी ऐन २०२० ले हाडनाता विवाहमा प्रतिबन्ध नै लगाएको थियो । यद्यपि हाडनाताभित्र विहे गर्नेमाथि कारबाही भएको चाहिँ व्यवहारमा पाइँदैनथ्यो ।

मुलुकी ऐनको विहेबारीको महलको १ नम्बरमै लेखिएको छ ‘विहेबारी भएकोमा हाडनातामा पर्न गएको रहेछ भने ती लोग्ने स्वास्नीलाई छुट्याइदिनुपर्छ । जानीजानी त्यस्तो विहावरी गरेकोमा हाडनाता करणीको महलमा लेखिएबमोजिम सजायँ समेत हुन्छ ।’

तर भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा भने समाजमा प्रचलित हाडनाता विवाहलाई मान्यता दिइएको छ । यसको विवाहसम्बन्धी कसुरको दफा १७२ मा भनिएको छ ‘कसैले परम्परा अनुसार चलिआएको अवस्थामा बाहेक हाडनाता करणीमा सजाय हुने नातामा विवाह गर्न गराउन हुँदैन ।’

यदि परम्परामा चलेको बाहेक हाडनातामा विवाह गरेमा भने यसमा पनि बदर हुने व्यवस्था गरिएको छ ।

 

बहुविवाह गरे ५ वर्ष कैद, २० वर्ष नपुगी बिहे गरे ३ वर्ष