धरान । राणा प्रधानमन्त्री चन्द्र शमशेरले बसाएको ‘चन्द्रपुर बजार’ मा अहिले पनि दानबहादुर शाक्यको घर ठडिएको छ । उक्त घरमा अहिले दानबहादुरको नाति पुस्ता बस्दै आएको छ । उनको घरमा प्रवेश गर्दा कुनै सुरुङमा प्रवेश गरेको भान हुन्छ ।

घरभित्र छिर्नका लागि घरको उत्तरभित्तोबाट गल्ली नाप्नु पर्छ । काठ र माटोले बनेको उनको घर राणाकालीन समयमै बनेको हो । दानबहादुर भोजपुरबाट धरान झरेका थिए । जहाँ चन्द्र शमशेरले बसाएको बस्तीमा उनी पनि बस्न पुगेका थिए । “मेरो बाजे पुस्ता राणाकालमै यहाँ झर्नुभएको हो” दानबहादुरका नाति उत्तम शाक्यले भेटमा ब्लाष्टकर्मीलाई भने, “अहिले हामी बसेको घर पनि त्यही जमनाकै घर हो ।”

तात्कालीन समयमा १७–१८ वटा घरहरू ठडिएका थिए भने हाल चार घरहरू मात्रै ठडिएका छन् । जसले राणाकालको मात्रै झल्को दिँदैन, यो बस्ती काठमाडौँका नेवार गल्ली झैँ लाग्छन् । उत्तम शाक्य बसिरहेको घरको भित्री बनावट पनि पुरानो शैलीको छ । यो शैलीका घरहरू धरानमा सायदै भेटिन्छन् । उनको घरमा प्रवेश गर्दा कुनै कोप्चोमा प्रवेश गरेजस्तै लाग्छ । तर इतिहासलाई पल्टाउँदा भने धेरैले गर्व महसुस गर्छन् ।

“म जन्मेको पनि त्यहीँ हो, बाउहरू पनि त्यही जन्मिनुभएको रहेछ” उनले भने, “मैले थाहा पाउँदा चोकहरूमा पनि ढुङ्गे बाटो थियो ।” इतिहासका पानाहरूमा विजयपुर क्षेत्रपश्चात् धरान बसाएको बस्तीमा चन्द्रपुर अर्थात् चन्द्रनगर भनेर पुरानो बजार बस्तीलाई लिइन्छ; जुन वि.सं. १९५९ मा चन्द्र शमशेरले बस्ती बसाएको देखिन्छ । धरान उपमहानगरपालिकाको आधिकारिक वेबसाइटमा पनि चन्द्र शमशेरले वि.सं. १९५९ मा चन्द्र नगर बसाएको देखिन्छ ।

जानकारहरूका अनुसार चन्द्र शमशेरले बसाएको पहिलो बस्तीको रूपमा उत्तम शाक्यहरू बसेको बस्तीलाई लिइन्छ । जसलाई आजका दिनमा “गल्ली टोल” नामले प्रख्यात छ । जहाँ हरेक वर्ष गाईजात्राको समयमा उत्सव नै लाग्ने गरेको छ । “राणा प्रधानमन्त्री चन्द्र शमशेरले बसालेको पहिलो बस्तीको रूपमा गल्ली टोललाई लिइन्छ” कोशी प्रदेशका पूर्व सांसद एवम् नेपाली काङ्ग्रेसका नेता चन्द्रप्रसाद श्रेष्ठले ब्लाष्टकर्मीलाई भने, “चन्द्र नगर भनेर नै पहिला चिनिन्थ्यो । अहिले पनि चन्द्र नगर भन्छन् । पुरानो बजार त पछि मात्रै विस्तार भएको हो ।”

गल्ली टोलले प्रख्यात चन्द्रपुर बजारको उकालिने ठाडो बाटो २०५९ सालतिर कालोपत्रे भएको हो । स्थानीय विजय तुलाधरका अनुसार राणाकालमा निर्मित कृष्ण ताम्राकार, शम्भु शाक्य, प्रकाश ताम्राकार, रामेश्वर ताम्राकारको घर मात्रै बाँकी रहेको छ । अन्य घरहरू नयाँ निर्मित भइसकेका छन् । चन्द्र नगरमा तात्कालीन समयमा नेवार बस्ती थियो । अधिकांश फुसका छाना थिए । त्यो बस्ती आगलागीका कारण सखाप भयो । आगलागीपछि चन्द्र शमशेरले चासो देखाएको स्थानीय अनिल मास्के बताउँछन् । नेवाः देयः दबूका केन्द्रीय उपाध्यक्षसमेत रहेका मास्केका अनुसार यो बस्तीमा भयानक आगलागी भएको थियो । सबै घर ध्वस्त भएका थिए । आगलागी भएको खबर थाहा पाएपछि राणा प्रधानमन्त्री चन्द्र शमशेरले भारतको पटनाबाट सबै घरका लागि टाटा कम्पनीको च्यादर (टिन) निःशुल्क रूपमा वितरण गरेका थिए ।

“फुसको छाना भएर आगलागी भयो रे । सबै ध्वस्त भयो । मान्छेको बिचल्ली भयो, त्यो कुरा चाहिँ राणा प्रधानमन्त्रीले थाहा पाएछन् र निःशुल्क च्यादर दिएका थिए भनेर अजा खालले भनेको सुन्थ्यौँ” उनले भने, “अझै पनि दुई चारवटा घरमा त्यो टिनका अवशेषहरू छन् । त्यसैले पनि चन्द्रपुर बजार रहन गयो भनिन्छ ।” त्यतिबेलाको टिनमा काँटीको प्रयोग नगरी अर्कै किसिमको मोटो फलामे स्क्रू भएको काँटी प्रयोग गरिएको उनीहरू बताउँछन् । चन्द्र शमशेरले आफ्नै दाजु देव शमशेरलाई हटाएर वि.सं. १९५८ असार १३ गतेदेखि १९८६ मङ्सिर ११ गतेसम्म करिब २८ वर्ष शासन गरेका थिए । सोही समयमा नै चन्द्रपुर बजारको विकास भएको हो । वि.सं. १९९० पश्चात् जुद्ध शमशेरले हालको महेन्द्र पथ अर्थात् जुद्ध नगर स्थापना गरेका थिए ।