हङ्कङ । पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) र उनको नेतृत्वको अन्तर्राष्ट्रिय आरोही टोलीको सम्झनामा हङ्कङमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा सहभागीहरूले पुर्जाको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले उनलाई ‘राष्ट्रिय विभूति’ घोषणा गर्नुपर्ने माग गरेका छन् ।
हङ्कङ–नेपाली अल्ट्रा ट्रेल रनिङ सङ्घ (एचके नुट्रा) को आयोजनामा जोर्डनस्थित याक्थुङ चुम्लुङको सभाहलमा सम्पन्न कार्यक्रममा दिवङ्गत आरोहीहरूको सम्मानमा दीप प्रज्वलन, पुष्पाञ्जली तथा एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रममा एचके नुट्राकी सह–सचिव सुष्मा गुरुङले दुर्घटनामा ज्यान गुमाएका १० जना आरोहीको संक्षिप्त जीवनी प्रस्तुत गरेकी थिइन् । हिमपहिरोमा नेपालका निर्मल पुर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पासहित अमेरिका, ओमान, पाकिस्तान र चीनका चार आरोहीको निधन भएको थियो ।
शोकसभामा बोल्दै हङ्कङस्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत सतिस गुरुङले राज्यस्तरबाट हुनुपर्ने श्रद्धाञ्जली कार्यक्रम प्रवासी नेपाली संस्थाले आयोजना गर्नु प्रशंसनीय भएको बताए ।
कार्यक्रममा आयोजक संस्थाले विदेशी पर्वतारोहीलाई नेपालमा आकर्षित गरी पर्यटन र पर्वतारोहण क्षेत्रबाट देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै निर्मल पुर्जालाई ‘राष्ट्रिय विभूति’ घोषणा गर्न नेपाल सरकारसमक्ष अनुरोधपत्र पठाउने घोषणा गरेको छ ।
किशोर सेलिङ लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सगरमाथा आरोही राज गुरुङ, एनआरएनए हङ्कङका अध्यक्ष अनु राई, याक्थुङ चुम्लुङ हङ्कङका अध्यक्ष शमशेर तुम्बाहाङ्फे, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, पत्रकार, अल्ट्रा ट्रेल धावक तथा प्रवासी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।